३४ मुद्दामा दोषी ठहर भएका ट्रम्प अमेरिकी राष्ट्रपति निर्वाचन लड्न पाउँछन्?

३४ मुद्दामा दोषी ठहर भएका ट्रम्प अमेरिकी राष्ट्रपति निर्वाचन लड्न पाउँछन्?

एजेन्सी : ऐतिहासिक फैसलामा न्यूयोर्कको एक अदालतले अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हश मनी मुद्दामा दोषी ठहर गर्यो। अदालतले जुलाई ११ मा उनलाई सजाय तोकिने बताएको छ।

ट्रम्पले यो निर्णयलाई लाजमर्दो र धाँधली भएको बताएका छन्। अमेरिकी इतिहासमा वर्तमान वा पूर्व राष्ट्रपतिलाई आपराधिक मुद्दामा मुद्दा चलाइएको र दोषी ठहर भएको पाइएको यो पहिलो घटना हो। यो फैसलापछि उनले राष्ट्रपति निर्वाचन लड्न पाउँछन् कि पाउँदैनन् भन्ने चर्चा सुरू भएको छ।

अमेरिकी राष्ट्रपति जो बाइडेनको चुनावी अभियान टोलीले ‘कानूनभन्दा माथि कोही नभएको’ भन्दै निर्णयलाई उचित ठहर गरेको छ। डोनाल्ड ट्रम्प रिपब्लिकन पार्टी र बाइडेन सत्तारुढ डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिका उम्मेदवार हुन्।

ट्रम्पले २०१६ को राष्ट्रपति चुनावअघि उनको मौनताको बदलामा पोर्न स्टार स्टर्मी डेनियललाई हश मनी भुक्तानी लुकाउने र आफ्नो व्यापार रेकर्डको तथ्य बङ्ग्याएको आरोपको सामना गर्नुपरेको थियो।

ट्रम्पले आफूमाथि लगाइएको कागजात छेडछाड गरेको आरोपलाई अस्वीकार गर्दै आएका छन् भने स्टर्मी डेनियलसँग यौन सम्पर्क गरेको कुरालाई पनि अस्वीकार गरेका छन्।

ट्रम्प चुनाव लड्न सक्छन्?
दोषी ठहर भए पनि ट्रम्प यसै वर्ष नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति चुनावमा उम्मेदवार बन्न सक्नेछन्।

अमेरिकी संविधानले राष्ट्रपति पदका उम्मेदवारका लागि कम्तीमा ३५ वर्षको उमेर भएको, संयुक्त राज्यको आजीवन नागरिक भएको र कम्तीमा १४ वर्षसम्म संयुक्त राज्य अमेरिकामा बसेको हुनुपर्ने प्रावधान छ।

आपराधिक अभिलेख भएका उम्मेदवारलाई चुनाव लड्न नदिने कानूनमा उल्लेख छैन। जेलमा रहेका व्यक्तिले पनि राष्ट्रपतिको चुनाव लड्न सक्छन्।

जेठ १८, २०८१ शुक्रबार ०८:१८:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।