‍डोनाल्ड ट्रम्प ३४ मुद्दामा दोषी ठहर, ११ जुलाइमा सजाय तोकिने

‍डोनाल्ड ट्रम्प ३४ मुद्दामा दोषी ठहर, ११ जुलाइमा सजाय तोकिने

एजेन्सी : अमेरिकी राष्ट्रपति निर्वाचनअघि अ1मेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ठूलो झट्का लागेको छ।

अदालतले ७७ वर्षीय ट्रम्पलाई पोर्न स्टार स्टर्मी डेनियललाई मौन बस्नका लागि गरिएको भुक्तानी लुकाउन व्यापारिक रेकर्डको तथ्य हेरफेर गरेको ३४ वटा मुद्दामा दोषी ठहर गरेको हो।

१२ न्यायाधीशको संयुक्त इजलासको फैसलापछि ट्रम्पले यसको कडा शब्दमा निन्दा गरेका छन्। उनले यसलाई ‘लज्जास्पद’ र ‘धाँधलीपूर्ण’ भनेका छन्।

अदालतबाट बाहिरिएपछि ट्रम्पले आफ्नो असन्तुष्टि व्यक्त गर्दै भने, ‘हामीले कुनै गल्ती गरेका छैनौँ। म एकदमै निर्दोष छु।’

दोषी भएको फैसलाको बावजुद, ट्रम्पले आफू निर्दोष रहेको दाबी गर्दै उनले वास्तविक फैसला ५ नोभेम्बरमा जनताले दिने बताए। आगामी ५ नोभेम्बरमा अमेरिकामा आम निर्वाचन हुँदैछ।

ट्रम्पले म्यानहट्टन जिल्ला अधिवक्ता र जो बाइडेन प्रशासनको आलोचना गर्दै आधारहीन मुद्दामा आफूलाई दोषी देखाइएको दाबी गरिरहे।

एक छुट्टै बयानमा, ट्रम्पको कानूनी टोलीले निर्णयलाई चुनौती दिने बताएको छ। तर, न्यायाधीश जुआन मर्चनले ट्रम्पको निर्दोषको प्रस्तावलाई अस्वीकार गर्दै जुलाई ११ मा सजाय सुनाइले बताए।

यसैबीच ट्रम्पले शुक्रबार विहान ११ बजे ट्रम्प टावरमा पत्रकार सम्मेलन गर्दैछन्। उनी दोषी ठहरिएपछि ट्रम्प मिडिया नामक कम्पनीले शेयर ९ प्रतिशतले ओरालो लागेको छ।

सुनुवाइका क्रममा न्यायाधीशले ‘नेशनल इन्क्वायरर ट्याब्लोइड’का पूर्व प्रकाशक डेभिड प्याकर र ट्रम्पका पूर्व अधिवक्ता माइकल कोहेनको बयान सुनेका थिए।

अगस्त २०१५ मा डेभिड प्याकरले डोनाल्ड ट्रम्प र माइकल कोहेनसँग ट्रम्प टावरमा भेटेका थिए। सन् २०१६ मा भएको निर्वाचनलाई प्रभावित पार्ने षड्यन्त्र यहीँ रचिएको अभियोजन पक्षको भनाइ थियो।

यस बैठकको सम्बन्धमा प्याकरको बयान अदालतमा पढेर सुनाइएको थियो।

बयानमा भनिएको थियो, ‘डोनाल्ड ट्रम्प र माइकल कोहेनले मलाई कसरी म र मेरो पत्रिकाले उनीहरूको अभियानलाई मद्दत गर्न सक्छु भनेर सोधेका थिए। जसमा मैले ट्रम्पको बारेमा सकारात्मक रिपोर्टहरू र उनका विरोधीहरूको बारेमा नकारात्मक रिपोर्टहरू चलाउने बताएको थिएँ।’

प्याकरले बैठकमा चुनावी अभियानको ‘आँखा र कान’को रूपमा आफूहरूले काम गर्ने  र कुनै नकारात्मक समाचारको बारेमा जानकारी हुने बित्तिकै माइकल कोहेन सूचित गर्ने बताएका थिए।

अदालतले गत ६ हप्तामा मुद्दाको केन्द्रमा रहेकी पूर्व पोर्न स्टार स्टर्मी डेनियलसहित २२ साक्षीहरूको बयान सुनेको थियो। ट्रम्पले २०१६ को राष्ट्रपतीय चुनावअघि स्टर्मी डेनियल्सलाई उनको मौनताको बदलामा पैसा तिरेको तथ्य लुकाउने लगायत ३४ वटा आरोपको सामना गर्नुपरेको थियो।

ट्रम्पले आफूमाथि लगाइएको कागजात छेडछाड गरेको आरोपलाई अस्वीकार गर्दै आएका थिए भने डेनियलसँग यौन सम्पर्क गरेको कुरालाई पनि अस्वीकार गरेका थिए।

अमेरिकाको इतिहासमा वर्तमान वा पूर्व राष्ट्रपतिविरुद्ध फौजदारी मुद्दा चलेको यो पहिलो पटक हो।

जेठ १८, २०८१ शुक्रबार ०८:०७:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।