चितवनमा अन्तर्राष्ट्रिय पोल्ट्री एक्सपो हुँदै, अमेरिकादेखि इजरायलसम्म सहभागी

चितवनमा अन्तर्राष्ट्रिय पोल्ट्री एक्सपो हुँदै, अमेरिकादेखि इजरायलसम्म सहभागी

चितवन : चितवनमा अन्तर्राष्ट्रिय पोल्ट्री एक्स्पोको आयोजना हुने भएको छ। जेठ १८ देखि २० सम्म एक्स्पो हुन लागेको हो। एक्सपोमा कुखुरापालक किसानलाई ज्ञान, सीप, प्रविधिबारेमा शिक्षा दिइने आयोजकले जानकारी दिएको छ।

नेपाल पोल्ट्री महासङ्घ र इन्डियन पोल्ट्री इक्युप्मेन्ट उत्पादक सङ्घको संयुक्त आयोजनामा एक्स्पो हुन लागेको हो।

एक्स्पोमा एक सय ५० प्रदर्शनी कक्ष रहने र प्रदर्शनीमा नेपाल, भारत, जर्मनी, बेल्जियम, नेदरल्याण्ड, चीन, अमेरिका, टर्की, मलेसिया, सिङ्गापुर, ताइवान, इटली, इजरायललगायत देशका कम्पनीहरू सहभागिता हुने आयोजकको दाबी छ।

आयोजक नेपाल पोल्ट्री महासङ्घका अध्यक्ष गुणचन्द्र विष्टले विदेशमा गएर प्रविधि, सीप र ज्ञान आर्जन गर्न नसक्ने किसानलाई एकै ठाउँमा सबै कुरा उपलब्ध गराउन पाठशाला सञ्चालन गरिने बताएका थिए।

उनका अनुसार एक्स्पोमा कुखुराजन्य उद्योगका लागि आवश्यकपर्ने औषधि, दाना, चल्ला, खोर, फर्मलगायत सम्पूर्ण विषयबारे प्रविधिसहित किसानलाई शिक्षा दिइनेछ।

एक्सपोमा कम लागतमा धेरै अण्डा र मासु उत्पादन गर्न, नयाँ प्रविधि भित्र्याउन र पोल्ट्री उद्योगलाई थप चलायमान बनाउनेबारे जानकारी दिइने आयोजकले जानकारी दिएको छ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयका सहप्राध्यापक डा.सुरवीर सिंहले एक्स्पोमा तीन दिन नै पाठशाला सञ्चालन हुने बताए। उनले भारत, क्यानडा, नेपाललगायतका विज्ञहरूले नेपाली र हिन्दीमा शिक्षा दिने जानकारी दिए। कार्यक्रममा छ वटा कार्यपत्र समेत प्रस्तुत हुने उनले जानकारी दिए।

भारतीय पोल्ट्री इक्युप्मेन्ट उत्पादक सङ्घका अध्यक्ष उदय सिंहले हरेक किसान विदेश गएर ज्ञान, सीप र प्रविधिबारे जानकारी लिन सक्ने अवस्थामा नहुने भएकाले नेपालमा आएर विश्वस्तको कार्यक्रम गर्न लागिएको बताए।

नेपाल पोल्ट्री महासङ्घका उपाध्यक्ष टीका पोखरेलले कोभिडपछि सुस्ताएको पोल्ट्री व्यवसाय बिस्तारै माथि उठ्न थालेको र यसलाई थप चलायमान बनाउन एक्स्पो लाभदायक हुने बताए।

जेठ १७, २०८१ बिहीबार २२:१३:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।