मन्त्रीपरिषद् बैठकको निर्णयमा राष्ट्रपतिको भ्रमण स्वीकृतदेखि कर्मचारी बढुवासम्म

मन्त्रीपरिषद् बैठकको निर्णयमा राष्ट्रपतिको भ्रमण स्वीकृतदेखि कर्मचारी बढुवासम्म

काठमाडौँ : सरकारले खेमराज ज्ञवालीलाई नायव महान्यायाधिवक्तामा नियुक्त गरेको छ। उनी गत सातामात्रै सचिवमा बढुवा भएका थिए। बिहीबारको मन्त्रिपरिषद्को बैठकले न्याय सेवा आयोगको निर्णयलाई वैधानिकता दिने निर्णय गर्दै ज्ञवालीलाई नायव महान्यायाधिवक्ता नियुक्त गरेको हो।

ज्ञवालीसँगै सहसचिवबाट सचिवमा बढुवा भएका यमबहादुर बुढामगर न्याय परिषद् सदस्य र भद्रकाली पोखरेललाई सर्वोच्च अदालतको रजिस्ट्रार नियुक्त गर्ने निर्णय गरेको सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्।

‘नेपाल न्याय सेवा तर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा खेमराज ज्ञवाली, यमबहादुर बुढामगर र भद्रकाली पोखरेललाई बढुवा नियुक्त गरी क्रमशः नायब महान्यायाधिवक्ता, न्याय परिषद् सदस्य र रजिस्ट्रार पदमा पदास्थापना गर्ने निर्णय गरेको छ’उनले भनिन्।

बैठकले राष्ट्रपति रामचन्द्र पौडेलको भ्रमण स्वीकृत गर्ने, वन ऐनको दोस्रो संशोधन नियमावली २०८१ स्वीकृत गर्ने र तिलगंगा आँखा विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सङ्घीय संसद् समक्ष पेस गर्न स्वीकृति दिने निर्णय समेत गरेको छ।

राष्ट्रपति रामचन्द्र पौडेलको नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै जेठ ३१ गते स्वीटजरल्याण्डको जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२ औँ अधिवेशनमा भाग लिनेछन् भने त्यसपछि सङ्घीय गणतन्त्र जर्मनीको भ्रमणको कार्यक्रम रहेको शर्माले बताइन्।

बैठकले तिलगंगा आँखा विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सङ्घीय संसद् समक्ष पेस गर्न स्वीकृति दिने निर्णय समेत गरेको छ। 

जेठ १७, २०८१ बिहीबार २१:५४:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।