‘दान्भी’को पोस्टरमा नअटाएका किरणलाई ट्रेलरमा पनि छुस्स, पूजा र कुन्साङको अन्तवार्ता चल्दाचल्दै हिँडे
काठमाडौं : फिल्ममा मुख्य अभिनेता या अभिनेत्रीको स्थान सायद सबैमा बराबर जस्तै देखिने गरेको पाइन्छ। तर, आगामी असार ७ गतेबाट रिलिज हुने फिल्म ‘दान्भी’को ट्रेलरमा भने त्यो पाइएन।
बिहीबार काठमाण्डौंस्थित केएल टावरमा फिल्म निर्माण टिमले राखेको कार्यक्रममा देखाइएको ट्रेलर हेर्दा नायिका पूजा शर्मा हावी भएको देखियो। २ मिनेट ४० सेकेण्डको ट्रेलरमा फिल्मका मुख्य अभिनेता किरण श्रेष्ठलाई छ्यास्स राखिएको छ। एक्सनमा दौडने सिन। बाँकी पूजा र नवनायक कुन्साङ बोमजोमको देख्न सकिन्छ। किरणलाई निर्माण टिमले पोस्टरमा राख्न समेत कन्जुस्याइँ गरेको थियो भने यता ट्रेलरमा पनि खास भूमिकामा देखाएको छैन।
ट्रेलर हेर्दा कुन्साङको हत्यापछि उनको हत्याको बदला लिन पूजालाई एक्सन रुपमा निर्माण पक्षले फिल्ममा उतारेको बुझ्न सकिन्छ। तीन जनाको मुख्य भूमिका रहेको फिल्मको प्रेसमिटमा किरणलाई भन्दा अग्रसर पूजा र कुन्साङलाई राखिएको थियो। त्यही कारण पनि होला, किरण छटपटिएका थिए।
सायद उनलाई पोस्टरमा त अटाइन ट्रेलरमा त अटाउँछु भन्ने लागेको थियो होला, त्यो पनि नभएपछि मन दुख्ने र अमिलो हुनु त स्वाभाविकै पनि हो।
किरण नाटकघर हुँदै फिल्म ‘पर्खी बसे तिमीलाई’बाट अभिनेतामा डेब्यु गरेका अभिनेता हुन्। पहिलो गाँसमै ढुङ्गा चपाएका किरणले दान्भी फिल्मबाट नै अपेक्षा राखेका थिए। तर, फिल्मको पोस्टर रिलिज र ट्रेलरमा नअटाएपछि त्यो अपेक्षा मारिसकेका छन्। त्यही भएर होला फिल्मको ट्रेलर कार्यक्रममा उपस्थित भएका किरण, पूजा कुन्साङको अन्तवार्ता चलिरहेको बेला हलबाट बाहिरिएका थिए।
रुपेश तामाङले निर्देशन गरेको पूजा, किरण, कुन्साङको मुख्य भूमिका रहेको यो फिल्ममा द्वन्द्व निर्देशन श्री श्रेष्ठको छ। उनले फिल्ममा पूजाको टाइमिङ र मेहनतले ‘दान्भी’मा एक्सन गर्न सजिलो भएको दाबी गरे।
नेपाल र भारतका विभिन्न स्थानमा खिचिएको फिल्ममा पवन राना मगर कार्यकारी निर्माता रहेका छन्। यस फिल्ममा देव मगर र अनुप गडाल निर्माताका रुपमा रहेका छन्। त्यस्तै, यो फिल्ममा सह-लगानीकर्तामा रुपमा कमला लिम्बु, पन्चबहादुर तामाङ र आदर्श पौडेल छन्।
फिल्ममा सन्जोग कुँवर रानाको पटकथा तथा संवाद, रविना थापा मगरको कथा, हरिप्रसाद घलेको डीओपी, बन्दे प्रसादको सम्पादन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी छ।
यो फिल्मलाई लिएर पूजा शर्मा निकै उत्साहित रहेकी छन्। ट्रेलर रिलिज कार्यक्रममा उनले फिल्मको छायांकन गर्दाको क्षण सम्झँदै अहिले त्यो भूमिका आफूले गर्न सक्छु कि सक्दिनँ भन्नेमा दोधारमा रहेको बताइन्।
जेठ १७, २०८१ बिहीबार १६:११:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।