सनी देओलले धोकाधडी, झुठो बोलेको र जबर्जस्ती पैसा असुलेको आरोप
एजेन्सी : फिल्म ‘गदर २’बाट कमब्याक गरेपछि अभिनेता सनी देओलको हातमा फिल्मको लाइन नै छ। उनी एकपछि अर्को गर्दै फिल्मको सुटिङ पूरा गरिरहेका छन्। यही बीचमा निर्माता सौरभ गुप्ताले सनीविरुद्ध धोकाधडी, झुठो बोलेको र जबर्जस्ती पैसा असुलेको आरोप लगाएका छन्।
उनले हालै एक पत्रकार सम्मेलन गर्दै सनीमाथि यस्तो आरोप लगाएका हुन्। सौरभका अनुसार सनीले सन् २०१६ मा एडभान्स पैसा लिएका थिए र उनको फिल्म फिल्ममा काम गर्ने भन्दै थप पैसा पनि लिएका थिए। तर ‘गदर २’ हिट भएपछि उनले सौरभको फिल्म नगर्ने निर्णय लिए।
सौरभले सनीले सन् २०१६ मा फिल्म साइन गरेको बताउँदै त्यो समयमा उनको पारिश्रमिक ४ करोड रुपैयाँ रहेको जनाए।
‘मैले उनलाई १ करोड एडभान्स दिएँ। तर, फिल्म सुरू गर्नुको सट्टा उनले ‘पोस्टर ब्वाइज’को सुटिङ सुरू गरे। सनीले मलाई लगातार पैसा मागिरहेको थियो। अहिले मेरो २ दशमलव ५५ करोड रुपैयाँ सनीको खातामा छ। उनले मलाई अर्को निर्देशकलाई पैसा दिनु पनि भनेका थिए। उनले फिल्मीस्तानको स्टुडियो बुक गर्न र कार्यकारी निर्माता राख्न पनि भने’, सौरभले भनेका छन्।
सौरभले सनीमाथि फर्जी सम्झौताको पनि आरोप लगाए।
‘सनीले मेरो कम्पनीसँग सन् २०२३ मा फर्जी सम्झौता गरेका गरेका रहेछन्। जब मैले सम्झौता पत्र पल्टाएँ, त्यो पृष्ठको बीच भाग परिवर्तन गरिएको रहेछ। जहाँ पारिश्रमिक रुपैयाँ ४ करोडलाई ८ करोड बनाइएको थियो। त्यसको नाफा २ करोड गरिएको थियो’, सौरभले भनेका छन्।
सौरभको समर्थनमा फिल्म निर्माता सुनील दर्शन पनि देखिएका छन्।
‘सनीले मेरो फिल्म ‘अजय’को ओभरसिज अधिकार वितरणका लागि लिएका थिए। जसको आधा रूपैयाँमात्र भुक्तान गरेका छन्’, सुनीलले भनेका छन्।
जेठ १७, २०८१ बिहीबार १५:५०:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।