अष्ट्रेलियामै सुटिङ गरियो कौडा गीत ‘सालीनानी’
काठमाडौं : पछिल्लो समय नेपाली लोक तथा संस्कृति देश-विदेशमा निकै नै फस्टाउँदो अवस्थामा छ। नेपाली कलाकारहरू जहाँ रहेता पनि नेपाली गीत संगीतलाई उजागर गरिरहेका छन्। यही उजागर गरिएको मध्ये एउटा कौडा तथा चुड्का गीत हो- ‘सालीनानी’।
सपना पुनको प्रस्तुति रहेको यो गीतलाई अष्ट्रेलियामा छायांकन गरिएको छ। यस गीतलाई गायक,मोडल तथा सर्जक गणेश गुरुङ र सुष्मा पुनले गाएका छन्। गीतमा अन्य गायक गायिकाहरूमा दुर्गा गुरुङ, तेजेन्द्र दुरा,भिमु गुरुङ र सुमितामी परियारसमेत रहेका छन्।
गीतको भिडियोका साथै अडियो पनि अष्ट्रेलियामै निर्माण भएको हो। यसलाई त्यहाँको नोपोमेलो रेकर्डिङ स्टुडियोबाट समिर आचार्यले रेकर्ड गराएका हुन्।
हाम्रै भिरपाखा, लेकबेसी तथा गाउँ समाजका कथा व्यथालाई सांगीतिक माध्यमबाट चित्रण गर्ने गरिएको यो गीतको शब्द तथा लय गायक गणेशकै रहेको छ भने संगीत संयोजन दुर्गा गुरुङको छ।
राजीव बलामीले निर्देशन गरेको यो गीतको भिडियोमा फूलु मगरको कोरियोग्राफी रहेको छ। गीतको भिडियोमा अष्ट्रेलियामा नै रहेको कलाकार विन्दु गुरुङ, शिला गुरुङ, सृष्टि मगर, स्वार्निमा गुरुङ, स्मृति गुरुङ,प्रिया गुरुङलगायतका कलाकारहरूले नाचेका छन्। उनीहरुको साथमा गीतकै गायक तथा गायिकालाई पनि निर्देशक बलामीले नचाएका छन्।
राजिव बस्नेतले छाँयाकन गरेको यो भिडियोलाई विष्णु शर्माले सम्पादन गरेका हुन्।
जेठ १७, २०८१ बिहीबार १५:३०:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।