आफ्नो मन्त्रालयलाई कम बजेट दिइएको भन्दै रिसाइन् महिलामन्त्री !

आफ्नो मन्त्रालयलाई कम बजेट दिइएको भन्दै रिसाइन् महिलामन्त्री !

काठमाडौं : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले महिला मन्त्रालयमा अहिलेको नीति तथा कार्यक्रमबाट पनि पर्याप्त बजेट नआएको गुनासो गरेकी छिन्। 

बिहीबार काठमाडौंमा आयोजित इनफ अभियानको औपचारिक सुरुवात कार्यक्रममा उनले महिला मन्त्रालयजस्तो संवेदनशील मन्त्रालयमा पनि पर्याप्त बजेट नआउनु दुखद् विषय रहेको भन्दै रिसाइन्। 

उनले भनिन्, ‘मुलुकमा ५१.४ प्रतिशत महिला र अलि तल परेका बालबालिका ११ प्रतिशतभन्दा बढी छन्। जेष्ठ नागरिक आठ प्रतिशतभन्दा बढी छन्। अपाङ्गता भएका व्यक्ति र यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिहरूको संख्या लगायतलाई हेर्दा मन्त्रालय धेरै संवेदनशील र महत्वपूर्ण छ। विभेदमा परेको उनीहरुलाई राज्यले अभिभावकत्व दिने हो तर यसमा बजेटको सीमा पर्याप्त खालको छैन।’

उनले बजेट पर्याप्त नभएको अवस्थामा विभिन्न विकास साझेदार संस्थाहरुसँग मिलेर महिला बालबालिकाको क्षेत्रमा काम गर्नुपर्ने बताइन्। १५ औं पञ्चवर्षीय योजनाले नसमेटेका कुराहरू १६ औं पञ्चवर्षीय योजनामा प्राथमिकतामा राख्नुपर्ने उनको भनाई छ।  

उनले भनिन्, ‘बजेट पर्याप्त नभएको अवस्थामा विभिन्न विकास साझेदार संस्थाहरूसँग मिलेर हामीले मन्त्रालयसँग सम्बन्धित क्षेत्रमा काम गर्नुपर्ने छ। सँगसँगै हाम्रो १६ औं पञ्चवर्षीय योजना अहिले आउँदै छ। १५ औं योजनाले देखाएका विषयहरू १६ औं योजनाले संकेत गरेको कुराहरू त्यसमा पनि अझ अलि पछाडि परेको ठाउँहरूलाई प्राथमिकतामा राख्नुपर्छ।’ 

जेठ १७, २०८१ बिहीबार १५:१९:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।