गंगाराज मुकारुङको हिजोको कुरा : सेना भएकै आधारमा माओवादीले आमालाई घर बाहिर निकालेर ताल्चा लगाईदिए
‘इलामे शहर चियाबारी राम्रो’लगायत दर्जनौं गीतका गीतकार हुन् गंगाराज मुकारुङ राई। उनी अवकाश प्राप्त नेपाल आर्मीका महासेनानी पनि हुन्। भोजपुरको टेम्के गाउँपालिका-३ मा २०२० सालमा जन्मिएका उनले २०३५ सालमा गाउँकै स्कुलबाट एसएलसी दिएपछि पढ्नका लागि काठमाडौं आए।
त्रिचन्द्र कलेजमा पढ्न थालेका बेला त्यसबेला प्रजातन्त्र कि पञ्चायन भन्ने विषयमा जनमत संग्रह भयो। त्यतिबेला उनी आईए पढ्दै थिए। त्यतिबेला प्रशासन पहिला भन्दा अलि नरम भएको थियो। जनवादी तथा प्रगतीशील गीत गाउँदा प्रहरीले थुन्न छाडेको थियो। त्यहि समयमा राईले कलेजका कार्यक्रममा गीत गाउँथे।
ब्याचलर सकेपछि उनी आर्मीमा जागिरे भए। त्यसपछि उनले थुप्रै आन्दोलन तथा द्वन्द्वलाई नियन्त्रण गरे। तत्कालीन माओवादीका कार्यकर्ताले भोजपुरमा उनकी आमालाई घर बाहिर निकालेर ताला ठोकेको देखि चन्दा समेत मागेको उनलाई अझै याद छ। उनै राईले आफ्ना बाल्यकाल, हुर्काइ, जागिरे र सांगीतिक जीवनका अनुभव उकेराको नियमित स्तम्भ हिजोका कुरामा यसरी सुनाएका छन्।
प्रगतिशील गीत गाउन बन्देज
मैले थाहा पाउँदा देशमा पञ्चायत व्यवस्था थियो। त्यतिबेला प्रगतिशील गीतहरू गाउन प्रतिबन्ध थियो भने मायाप्रेमका गीतहरू गाउन पाइन्थ्यो। अलि जनचेतनामुलक र प्रगतिशील गीत गाए प्रहरीले पक्रन्थ्यो।
मैले रेडियोबाट बजेका लोकगीतहरू सुनेर गाउँथे। गाउँघरतिरकै पनि टिपिकल लोकगीतहरू भाका हालेर गाउँथे। त्यसबेला स्कुलले गरेका अतिरिक्त क्रियाकलापमा गायन, लेखन, नाचगान प्रतियोगितामा हुन्थे। विद्यालयमा मात्र नभएर जिल्लास्तरीय प्रतियोगिताहरू नै हुन्थे।
म ८ कक्षामा पढ्दा २०३२ सालमा जिल्ला स्तरीय प्रतियोगितामा सहभागी भएर म दोस्रो भएको थिएँ। गीत भने सरहरूले लेखिदिनुभएको थियो।
त्यतिबेला पढाइका साथसाथै अन्य प्रतियोगिता गरेर विद्यार्थीको हौसला बढाउने काम गरिन्थ्यो। हरेक शुक्रबार कुनै न कुनै स्कुलमा कार्यक्रमहरू भइराख्थ्यो। अहिले मान्छेहरूको चेतना बढेर गयो।
हाम्रो जमाना भन्दा अहिले त धेरै फरक छ नि! त्यतिबेला हामी देश बाहेक अरु केहि सोच्दै सोच्दैनथ्यौँ। विदेश जाने भन्ने त कुरै हुँदैनथ्यो। कि लाहुरे भएर जानुपर्यो नत्र बाहिर काम गर्न जाने भन्ने त कल्पनामै थिएन।
कि सिडियो, कि प्रहरी प्रमुख
त्यो बेलामा हामीले पढेर प्रकाशक, शिक्षक, सिडियो, प्रहरी प्रमुख, आर्मी अफिसर हुने भन्ने सोच राख्थ्यौँ। मेरो गाउँमा अलि बढी ब्रिटिस आर्मी बन्नेको प्रभाव थियो। मेरो काका, दाइ र हाम्रो गाउँका धेरै युवाहरू ब्रिटिस आर्मीमा हुनुहुन्थ्यो।
एकताका मेरो सोच पनि ब्रिटिस आर्मी बन्ने थियो। ब्रिटिस आर्मीको छुट्टै चार्म थियो नि! पैसा, सरसामान, सुनचाँदी टन्नै लिएर आउँथे उनीहरू। गाउँघरमा जग्गा किन्थे भने गाउँमा रेडियो बोकेर हिँड्थे।
एसएलसी बिग्रियो भने म ब्रिटिस आर्मी नै बन्छु भन्ने सोचाइ थियो। तर मेरो एसएलसी बिग्रिएन। एकैपटकमा राम्रै डिभिजनमा पास गरे। सरासर पास गर्दै आएपछि मलाई अझै पढ्ने सोच पलायो। ३६ सालमा काठमाडौं आएर त्रिचन्द्र क्याम्पसमा इन्ट्रान्स दिए। त्यो पनि पास भएपछि त्यहिँ पढ्न थालेँ। ब्याचलरसम्म पढेपछि जागिर खान थालेको हुँ।
त्यतिबेलामा मान्छे एकदमै इमान्दार
त्यतिबेला धरान आइपुग्न भोजपुरबाट हिँडेर चार दिन लाग्थ्यो। म भने घरबाट हिँडेको तीन दिनमा धरान आइपुग्थेँ। त्यतिबेला बाटो हिँड्ने बटुवाहरूलाई ठाउँ-ठाउँमा बसोबास गर्ने व्यवस्था हुन्थ्यो। बास बस्नका लागि ठाउँ तोकिएकाले समस्या केहि हुँदैनथ्यो।
बास बस्ने ठाउँहरूमा कच्ची घरहरू खोलाका छेउछाउमा हुन्थ्यो। बटुवाहरूलाई खाना खुवाउने, बास दिने व्यापारिक रुपमा नै बनाइएको थियो। त्यतिबेलाका मान्छेहरू व्यापारिक हिसावले घरहरू बनाइए पनि उनीहरू इमान्दार थिए। उनीहरूले सामान्य फाइदादेखि बाहेक पैसा लिँदैनथे।
बास माग्दै गयो भने सकेसम्म पाहुनाहरूलाई फकाउनुहुन्न, बास दिनुपर्छ र खाना खुवाउनुपर्छ भन्ने मान्छेको सोच थियो। त्यतिबेला मान्छेहरूले तपाईं आफैँ पकाउनुहुन्छ कि, चामल ल्याउनुभएको छ कि, तरकारीहरू छ कि छैन, मासु खानुहुन्छ कि भनेर सोध्थे। केहि पनि छैन भनेर पैसा तिर्छु भन्यो भने अलिक बढी लिन्थे। हैन चामल र तरकारी भएर पकाइदिनुस् भन्यो भने पकाएको र दाउराको मात्र पैसा लिन्थे।
मैले चाहिँ घरबाट नै आठ माना चामल बोकेर हिँडेको थिए। त्यहि भएर एक छाकको त्यहि एक देखि डेढ रुपैयाँ तिरेको थिएँ। ठाउँ अनुसार एक दुई पैसा घटिबढी हुन्थ्यो। बास बसेको त्यहि १ रुपैयाँ हाराहारी परेको थियो। मेरो खर्च त्यस्तै ५÷६ रुपैयाँ भएको थियो होला धरान आइपुग्दा।
मैले त्यतिबेला काठमाडौं आउँदा १ हजार बोकेर आएको थिएँ। त्यतिबेला त्यस्तो खर्च गर्ने ठाउँ पनि हुँदैनथ्यो। पैसा जोगिन्थ्यो। म काठमाडौं आएपछि लाजिम्पाटमा डेरामा बसेँ। डेराभाडा पनि महँगो लिदैनथ्यो। बढीमा दुई सय पचास रुपैयाँ हुन्थ्यो। घरबेटीले त्यतिबेलाको समयमा हरेक कोठामा एउटा खाट राखिदिएका हुन्थेँ, भाडामा बस्नेहरूका लागि। भयो भने सुकुलहरू पनि दिन्थेँ। घरबाट नै राडीपाखी बोकेर आए हुन्थ्यो।
आमाले मेरो लागि राडीपाखी राखिदिनुभएको थियो। त्यसकै भरमा कोठामा बसेँ। त्यतिबेला बिजुली बाल्दा १० बजेपछि निभाइदिनु पथ्र्यो। किनभने सवा मिटर हुँदैनथ्यो। बिजुलीको पैसा धेरै उठ्छ भनेर समयमा नै बत्ती निभाएर सुत्नुपर्ने, नत्र घरबेटी कराउँदै आइहाल्थे।
३६ सालपछि जनवादी गीत गाउन छुट
३६ सालअघि प्रगतिशील, जनचेतनामुलक गीत गाउन प्रतिबन्ध भए पनि आन्दोलन चर्किदै गएपछि र जनमत घोषणा भइसकेपछि प्रसासनहरू अलि सहज भए।
दरबारले हेर्ने दृष्टिकोण फरक पर्यो। सरकारले जनवादी गीत गाउन प्रतिबन्ध हटाएको थियो। त्यसकारण मैले पनि गाएँ। लोक आधुनिक गीतहरू स्कुल पढ्दाको समयमा गाएको थिएँ भने कलेज पढ्दा त्रिचन्द्रमा ‘गाउँ गाउँबाट उठ’ भन्ने गीत गाएको छु।
स्ववियु, नेवि संघ भन्ने के-के हुन्थ्यो। उनीहरूले आयोजना गरेको ठाउँमा गाइदिनुपर्यो भन्थेँ, म गाइदिन्थेँ। त्यतिबेला सडकमा आएर मुर्दावाद भन्यो भने चाहिँ प्रहरीले पक्रन्थ्यो। तर, कलेजमा भने छिरेनन् प्रहरी।
रेडियो नेपालमा गीत रेकर्ड गर्ने मुस्किल
म स्कुल पढ्दाखेरी नै गीतका शब्दहरू कोरिरहन्थेँ। काठमाडौं आएपछि मलाई पनि गीत रेकर्ड गर्ने रहर जागेको थियो। तर, कसरी रेकर्ड गर्ने भन्ने भेउ थिएन। काठमाडौं बस्न र कलेज पढ्न थालेपछि रेडियो नेपालमा गीत छनोट हुने गरेको थाहा पाएँ। त्यसका लागि मैले पनि बुझाएँ। ३८ सालको अन्तिमतिर मेरो ‘इलामे शहर चियाबारी राम्रो’ बोलको गीत रेकर्ड भयो।
त्यतिबेला रेडियो नेपालमा गीत रेकर्ड गराउनका लागि अत्यन्तै गाह्रो थियो। सेन्सरसीप हुन्थ्यो। त्यहाँ लगेर गीत बुझाइदियो। कुन गीत कहिले छनोटमा पर्छ भन्ने नोटिस निकालिन्थ्यो। अनि आफ्नो गीत पास भयो कि भएन भनेर रेडियो नेपालको नोटिस टाँसेको ठाउँमा पुग्नुपर्थ्यो र म पुग्थेँ पनि।
मेरो लोकगीत टाइपको भएर हो की के हो पास भएछ। मैले गीत बुझाएको २÷३ महिनापछि पास भएको नोटिस निकाल्यो। मैले चाल पाइनँ। पछि साथीहरूले ‘तपाईंको नाम निस्किएछ, तपाईं त गीतकार हुनुभयो’ भनेर सुनाए। अनि हुत्तिएर सिंहदरबार गेटमा पुगेर आफैँले हेरेँ। बडो आनन्द लाग्यो त्यतिबेला। खुसी शब्दमा भन्नै सक्दिनँ अहिले।
छनोट भएपछि रेडियो नेपालका कर्मचारीले गीत रेकर्डबारे जानकारी दिएका थिए। रेकर्ड हुने समयमा पहिलो पटक म रेडियो नेपाल छिरेको थिएँ। गीत रेकर्ड भएपछि रेडियो नेपालले एक सय पचास रुपैयाँ पारिश्रमिक दिएको थियो। यो गीत निकै चल्यो। लोक गीत भएर पनि होला रेडियो नेपालले खुबै बजायो।
त्यसपछि केहि गीतहरू रेकर्ड भए। अहिलेसम्म मेरा ४० वटा भन्दा बढी गीतहरू रेकर्ड भइसकेका छन्। तर, अरु गीतको पारिश्रमिक लिन भने मलाई बोलाएनन्। लिएको पनि छैन।
आर्मीको परेडमा आफ्नै गीत गाउँथेँ
४१ सालतिर मैले शाही नेपाली सेनामा अफिसर पदमा परीक्षा दिएँ। पास भएँ र जागिर खान थालेँ। यतिबेला मेरो पढाइ भने रोकियो। मास्टर डिग्री गर्ने मौकै मिलेन। आर्मीमा नै महासेनानी भएर गत वर्ष मात्रै अवकाश लिएँ। मैले जागिर खानुभन्दा अघि ‘इलामे शहर चियाबारी राम्रो’ चलेको थियो।
म आर्मीमा हुँदा परेड खेल्दा यहि गीत गुन्जिन्थ्यो। तर, मलाई कसैले यो गीतको श्रष्टा हो भनेर चिनेका थिएनन्। सय जनामध्ये केहीलाई थाहा थियो। हरेक कार्यक्रममा यो गीत बज्थ्यो। कतिपयले ‘यो गीत उहाँको पो हो त!’ भन्दा ‘लौ गीतकार पनि पो हो?’ भनेर आश्यर्च मान्नुहुन्थ्यो।
फौजीमा हुँदा गीत लेख्न बन्देज थियो। भावनामा बहेर फौजीले हिँड्नु हुँदैन भन्ने कुरा हुन्थ्यो। फौजीमा हुँदा मैले गीत लेखिनँ। गीत लेखियो भने पनि माथिबाट स्वीकृति लिनुपर्थ्यो। किन, केका लागि भनेर अनेक कुरा सोधिन्थ्यो। त्यस कारण पनि आर्मीमा रहँदा गीत लेखनमा सक्रिय भइनँ।
आमालाई बाहिर निकालेर घरको ढोकामा ताला
सशस्त्र द्वन्द्वको दश वर्ष मैले राम्रोसँग भोगेको छु। मान्छेहरूको बुझाई अलिक फरक हुँदो रहेछ। काठमाडौं अनि शहरमा बस्नेले फरक तरिकाले बुझ्छन्। गाउँघरबाट भने आर्मी छोड्दे भनेर धेरै दबाबहरू आउँथे। दबाब दिनेहरू तत्कालीन माओवादी कार्यकर्ताहरू र केही उरन्ठेउलाहरू थिए।
त्यतिबेला भोजपुरमा रहेको मेरो घरमा ताला नै लगाइदिए। बुवा स्वर्गिय भइसक्नुभएकाले घरमा आमा एक्लै हुनुहुन्थ्यो। उहाँलाई निकालेर घरमा तालाबन्दी गरिदिए। पुराना कागजपत्रहरू जलाइदिएछन्। त्यतिबेला फोन सम्पर्क हुँदैनथ्यो।
कान्तिपुरमा समाचार आएको रहेछ मेरो घरमा माओवादीले आमालाई बाहिर निकालेर घरमा तालाबन्दी गरेको र पुराना घरका कागजपत्र जलाइदिएको कुरा। मैले पनि त्यहि पढेर थाहा पाएको थिएँ।
माओवादीका मान्छेहरूले घरमा ताला लगाएपछि आफन्तहरूले आर्मीको जागिर छोड्दे भनेर दबाब दिनुभयो। तर, मैले मानिन्। मेरो घरको धान चामल लुटियो, भएका सरसामानमा आगो लगाइयो। देशमा शािन्त आएको आठ वर्षपछि डराउँदै घर पुगेको थिएँ म। विस्तारै देशमा राम्रो हुँदै पनि आएको थियो। शान्तिपछि मेरो भेट ठूला नेताहरूसँग भयो, त्यो बेलामा मैले उहाँहरूलाइै किन यस्तो गरेको भनेर सोधेको थिएँ।
जवाफमा उहाँहरूले आफुहरूले त्यस्तो गर्न निर्देशन नदिएको बताउनुभएको थियो। जिल्लाका नेता र राष्ट्रिय नेताहरूसँगको छलफलमा मैले सोध्दा यो घटना उहाँहरूबाट भएकै हैन रे? पार्टीगत रुपमा नभएको भन्ने कुरा गर्नुभयो। उहाँहरूको भनाइ अनुसार त्यतिबेला के हुँदो रहेछ भने पार्टीले गर्यो भन्यो अनि व्यक्तिगत दुस्मनी निकाल्दा रहेछन्।
त्यतिबेला मसँग माओवादीका नेताहरूले चन्दाको कुरा गरेका थिए। तर, मसँग चन्दा दिने पैसा थिएन। ब्यारेकको भात खाएर म ब्यारेकमै सुत्थे। श्रीमती र छोराछोरीलाई डेरामा राखेको थिएँ। आएको तलब त्यतै सकिन्थ्यो।
‘मैले चन्दा दिने अवस्थै छैन, भन्सारको कर्मचारी होइन म, गोली नै हाने पनि मबाट सम्भव छैन’ भनेपछि चन्दा माग्न छाडे। उनीहरू गाउँकै भाइहरू थिए। द्वन्द्वकालमा धम्की त कति आयो आयो, भनेर साध्य नै छैन र हुँदैन पनि।
जेठ १७, २०८१ बिहीबार १३:१८:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।