प्रजातन्त्र समर्थक १४ कार्यकर्तालाई हङकङको अदालतद्वारा दोषी ठहर, हुनसक्छ आजीवन कारावास

प्रजातन्त्र समर्थक १४ कार्यकर्तालाई हङकङको अदालतद्वारा दोषी ठहर, हुनसक्छ आजीवन कारावास

एजेन्सी : हङकङको अदालतले बिहीबार १४ जना प्रजातन्त्र समर्थक कार्यकर्तालाई दोषी ठहर गरेको छ।

चीनले बनाएको कानूनको आधारमा हङकङको अदालतले उनीहरूलाई दोषी ठहर गरेको हो। चीनकाे कानूनमा राज्यविरुद्ध प्रदर्शन गर्नूलाई अपराध मानिन्छ।

दोषी ठहर भएकाहरूमा पूर्व सांसदहरू लेउङ क्वोक–हङ, लाम चेउक–टिङ, हेलेना वङ र रेमण्ड चान रहेका छन्।

यो मुद्दा सरकारले छानेको तीन न्यायाधीशको इजलासले सुनुवाइ गरिरहेको थियो। यी न्यायाधीशहरूको प्यानलले यस मुद्दामा पूर्व जिल्ला काउन्सिलर ली यु-शुन र लरेन्स लाउलाई सफाइ दिएको छ।

यस मामिलामा दोषी ठहर भएका १४ जनालाई आजीवन कारावासको सजाय हुनसक्ने चिनियाँ सरकारी समाचार संस्था ग्लोबल टाइम्सले जनाएको छ।

२०२१ मा भएको अनौपचारिक प्राथमिक निर्वाचनमा भाग लिएको आरोपमा मुद्दा चलाइएका ४७ प्रजातन्त्र समर्थकहरूमध्ये यी १४ जना थिए। सरकारी पक्षले उनीहरूमाथि हङकङ सरकारलाई पतन गर्न खोजेको आरोप लगाएका थिए।

सन् २०१९ मा भएका ठूला सरकार विरोधी आन्दोलनपछि राजनीतिक प्रतिपक्षलाई दबाउन सुरक्षा ऐनलाई कसरी प्रयोग गरिँदैछ भन्ने विषयलाई यस घटनाले देखाएको यस मुद्दालाई नजिकबाट पछ्याउनेहरू बताउँछन्।

योसँगै चीन र हङकङका सरकारहरूले यो कानुनको सहायताले सरकारमा स्थायित्व आएको र न्यायिक स्वतन्त्रता पनि सुरक्षित भएको बताउँछन्।

जेठ १७, २०८१ बिहीबार १०:१५:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।