विकासका नाममा मासिँदै सर्वाधिक अक्सिजन दिने बरपिपल, विज्ञ भन्छन्- ‘पर्यावरणमाथिको प्रहार’

विकासका नाममा मासिँदै सर्वाधिक अक्सिजन दिने बरपिपल, विज्ञ भन्छन्- ‘पर्यावरणमाथिको प्रहार’

]बुटवल : बुटवल-बेलहिया व्यापारिक मार्ग विस्तार हुनुअघि बुटवलदेखि भैरहवासम्म सडक छेउमा ठूला बर र पिपलका बोटहरू थिए, साथमा चौपारी पनि। चर्को गर्मी हुने बुटवल, भैरहवामा गर्मी छल्न बर र पिपलको छहारीमा स्थानीय पुग्थे। पानी परेपछि ओत लाग्ने थलो पनि बर र पिपल नै थिए।

बीचमा सडक, अनि दायाँ-बायाँ ठूला बर र पिपलले सडक हरियाली थियो। गर्मीयाममा यात्रुहरूका लागि कतिपय स्थानमा त बर र पिपलको छहारीमै खानेपानीका लागि घैँटा समेत थिए। उनीहरू त्यहि छहारीमा घैँटाको चिसो पानी पिउँथे।

बुटवलको ट्राफिकचोकमा पनि बर र पिपलको बोट थियो। त्यसलाई स्थानीयहरूले ‘मिडिया चोक’ भन्थे। बर र पिपल सँगै रहेको चौपारी धेरैका लागि दुःख बिसाउने थलो थियो। बुटवलमा हुने हरेक आन्दोलनमा त्यो बर र पिपलको चौपारी मञ्चको रूपमा प्रयोग हुन्थे।

त्यतिबेला बुटवल-बेलहिया सडक दुई लेनको थियो। सडकको दायाँ-बायाँ बर र पिपलका बोटहरूले सडक हरियाली मात्र बनेको थिएनन्, वातावरणीय पर्यावरणमा समेत राम्रो प्रभाव पारेको थियो।

अहिले बुटवल-बेलहिया सडक छ लेनको छ। सडक पहिला भन्दा बहुतै फराकिलो छ। तर, पहिले जस्तो हरियाली छैन। उजाड छ, सडक। बुटवल-बेलहिया सडक विस्तारका क्रममा सडकको दायाँ-बायाँ रहेका बर र पिपलका रुखहरू काटिए।

अहिले सडकको बीच डिभाईडर र दायाँ-बायाँको क्षेत्रमा केही हरियाली बनाउने प्रयास त गरिएको छ, तर बर र पिपलको त्यो छहारी र सौन्दर्यता मासिएको छ।

बुटवल-बेलहिया सडक विस्तारका क्रममा १ सय ३० भन्दा बढी बर र पिपलका रुखहरू काटिएका थिए। बर र पिपलका रुखहरू काटिए पनि त्यसको स्थानमा विरुवा रोप्नतर्फ कसैको ध्यान गएको छैन।

यता, बुटवल-नारायणगढ सडक विस्तारको क्रममा ४ सय २ वटा बर र पिपलका रुखहरू काटिए। निर्माणपछि सडक फराकिलो बन्नेमा शंका छैन। तर, बुटवलदेखि नारायणगढसम्म पुग्दा सडक छेउका ठूला बर र पिपलका रुखहरू भने अब देखिने छैनन्। चार सय दुई मध्ये २ सय ५७ वटा पिपल र १ सय ४५ वटा बरका रुख काटिएका हुन्।

अहिले बुटवल-चन्द्रौटा सडक २ लेनको छ। सडक किनारमा ठाउँ-ठाउँमा बर र पिपलका ठूला बोटहरू छन्। त्यहि बोटको छहारीमाुनि धेरैजना गन्तव्य पैलाउँदा सुस्ताउँछन्।

तर, अब त्यी बर र पिपलका रुखहरू पनि सडक विस्तारसँगै काटिनेछन्। बुटवल-चन्द्रौटा सडक विस्तार आयोजनाका प्रमुख इन्जिनियर होमबहादुर एसीले सो सडक क्षेत्रभित्र पर्ने १ हजार बढि रुखहरू कटान स्वीकृतका लागि वन विभागमा फाइल पुगेको बताए।

उनले ४ सय भन्दा बढी बर र पिपलका रुखहरू बुटवल चन्द्रौटा सडकमा रहेको र त्यी रुखहरू सबै सडक विस्तारका क्रममा मासिने बताए।

सडक विस्तार हुनुअघि भैरहवाबाट लुम्बिनी पुग्दा दायाँ र बायाँ ठूला आँपका बोटहरू र बरपिपल थिए। यसले सडकको सौन्दर्यता बढाएको थियो नै। धुलो धुँवा र व्यस्त सडक छिचोलेर भैरहवादेखि अगाडि बढ्ने बित्तिकै दुवैतर्फ हरियाली रूखसहितको शितल र शान्त सडकमा हुने छहारी सहितको सडकले त्यहाँ पुग्ने जो कोहीलाई आनन्दित तुल्याउँथ्यो।

जेठ असार महिनामा त झनै सडकको दायाँ बायाँ बोटभरी लटरम्म फलेका आँपको स्वाद लिन्थे स्थानीय र बटुवाले। अहिले भैरहवा-लुम्बिनी खण्डको यो सडकको परिचय फेरिएको छ। भैरहवादेखि लुम्बिनीसम्मको २२ किलोमिटरको यात्रा अवधिभर शितलता दिने आँप र बरपिपलका रुख सडक विस्तारका नाममा मासिएका छन्।

बर र पिपल सँगै भएको स्थानमा चौतारो बनाईन्थ्यो। त्यही बोटमा धार्मिक आस्था राख्नेहरूले साताको सातै बार पूजा गर्थे। तर अहिले बर र पिपलको बोट सडक किनारमा छैनन्। अहिले बर र पिपलमा पूजा गर्नेहरूले घरमै गमलामा बर पिपल रोपेर पूजा गर्न बाध्य भएका छन्।

धार्मिक आस्थासँगै अक्सिजन र औषधिका लागि महत्वपूर्ण मानिने वर-पिपलका रूख सडक विस्तारका क्रममा संरक्षण नहुँदा गाउँघरबाटै लोप हुने अवस्थामा पुगेको वातावरणविद्हरू बताउँछन्। वातावरणविद् युवराज कंडेल विकासको नाममा हुने यस प्रकारको विनाशको तत्काल विकल्प खोजिनुपर्ने बताउँछन्।

‘सडकमा बर र पिपल अनि चौतारो बनाइनुको मुल कारण बटुवालाई सजिलो होस् भन्ने थियो। मुल चोक, देउरालीमा बर, पिपल र चौपारी थिए। तर, अहिले विकासका नाममा त्यी हटाइँदैछ’, उनले भने।

उनले सडक विस्तारका क्रममा बुटवल-भैरहवा क्षेत्रमा ७० वर्ष पुराना बर र पिपलका रुखहरू हटाइएको बताए।

‘सडक विस्तार गर्दा सबैभन्दा पहिले रुख काटिन्छ। तर त्यो रुख नजिकै पुनर्स्थापन गर्नमा कसैको ध्यान गएको पाइँदैन। त्यसैले विरुवा हटाउनु अघि नयाँ विरुवा रोपणतर्फ  सरोकारवालाले ध्यान दिनुपर्छ’, उनले भने।

साथै उनले सडक विस्तारका नाममा भएका बर र पिपलका रुखहरू हटाउँदा बाटोमा हिँड्नेलाई छहारी समेत नभएको र यसले सांस्कृतिक पहिचान मेटिने चिन्ता थपिएको बताए।

‘यो सबै पर्यावरणमाथिको प्रहार हो। बर पिपलहरूमा चराचुरंगीको आश्रय स्थल हुने गर्दथ्यो। रुखहरू काटिँदा उनीहरूको आश्रय स्थल मासियो’, उनले भने।

पहिले गाउँमा मानिसहरूले धर्म कमाउन पोखरी खन्ने तथा वरपिपलका बिरुवा रोप्ने चलन थियो। गाउँघरमा पनि गोरेटो बाटो नजिक बर र पिपलका बोट सँगै चौतारा पनि थिए। तर, अहिले गाउँमा पनि विकासका नाममा बर र पिपलसँगै चौतारा मासिँदै गएका छन्।

‘शहरमा मात्र होइन गाउँमा पनि बर र पिपल तथा चौताराहरू विकासका गतिविधिसँगै बैदिक धर्म मासिँदै गएको छ। यसको संरक्षण नगर्ने हो भने आउने पुस्तालाई बर र पिपल के हो भन्ने बुझाउँन कठिन हुन्छ’, उनले भने।

साथै सहरीकरणका कारण ठूला-ठूला र घनावृक्ष रोप्न नसकिए पनि गाउँघरमा समेत वरपिपलका रुख नरोपिनु, नहुर्काइनु चिन्ताको विषय भएको उनको भनाइ छ।

वातावरणविद् कंडेल विकसित मुलुकहरूले रुखहरू जोगाएर विकास गर्ने गरेको भन्दै त्यसको सिको नेपालमा पनि गर्न जरुरी रहेको बताउँछन्।

‘रुखहरू जोगाएर पनि विकास गर्न सकिन्छ भन्ने उदाहरण अरु देशमा छ। तर यहाँ पहिलो काम नै पर्यावरण मास्ने भएको छ। पुर्खाले कसरी जोगाउने भन्ने थियो। अहिलेकालाई मासौं भन्नेमा मात्र ध्यान छ’, उनले भने।

जेठ १७, २०८१ बिहीबार ०८:४५:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।