९ वर्षपछि एमालेको कार्यक्रममा भण्डारी : महिला हकको विषयमा ओलीसँग कुरै मिलेन !

९ वर्षपछि एमालेको कार्यक्रममा भण्डारी : महिला हकको विषयमा ओलीसँग कुरै मिलेन !

काठमाडौं : पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान र कानूनले दिएको अधिकारहरू व्यवहारिक कार्यान्वयनमा अझै चुनौतीहरू रहेको बताएकी छन्। 

काठमाडौंमा बुधबार आयोजित एमालेको राष्ट्रिय महिला भेलामा उनले ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित भए पनि समाजमा विद्यमान पितृसत्तात्मक सोचले व्यवहारिक रुपमा कार्यान्वयनमा अझै नभएको बताइन्। 

उनले भनिन्, ‘समाजमा आधा हिस्सा ओगटेका महिलाहरूका लागि एक तिहाइ सहभागिताको पूर्ण उपलब्धि भने भएन त्यसकारण प्राप्त उपलब्धीहरुको रक्षा गर्दै थप उपलब्धीहरुका लागि हामीले हाम्रा प्रयासहरूलाई जारी राख्नु पर्छ। महिलाको ३३ प्रतिशत सहभागिता सुनिश्चित भएपनि हाम्रो समाजमा विद्यमान पितृसत्तात्मक सोच, गरिबी, अशिक्षा, अन्धविश्वास र कुप्रथाका कारण संविधान र कानुनले दिएको अधिकारहरूको व्यवहारिक कार्यान्वयनमा अझै चुनौतीहरू बाँकी नै रहेका छन्।’

पूर्व राष्ट्रपति भण्डारीले अझैसम्म पनि महिला हक र प्रतिनिधित्व हुन नसकेको भनिरहँदा त्यही कार्यक्रममा उपस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीले भने त्यसलाई स्वीकार गरेनन्। 

उनले अहिलेको व्यवस्था परिवर्तन सँगै महिलाको ३३ प्रतिशत उपस्थिति सकारात्मक भएको बताए। 

उनले भने, ‘अहिले अवस्था जहाँको तहीँ छ भन्ने होइन। एउटा गलत शब्दावलीको प्रयोग भइराखेको छ। कति संघर्ष गरेर, कति लडाइँ गरेर कुन अवस्था पार गरेर यहाँसम्म कुन बलिदान दिएर यहाँ आइएको छ, अवस्था उस्ता उस्तै रे। कहाँ छ उस्ता उस्तै छ? महिलाको उपस्थिति संसदमा ३३ प्रतिशत छ।’

कार्यक्रममा पूर्व राष्ट्रपति भण्डारी प्रमुख अतिथिको रूपमा उपस्थित भएकी थिइन् भने अध्यक्ष ओली विशेष अतिथि बन्नु परेको थियो। यो सँगै पूर्व राष्ट्रपति भण्डारी एमालेको औपचारिक कार्यक्रममा ९ वर्षपछि सहभागी भएकी हुन्।  

जेठ १६, २०८१ बुधबार २२:००:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।