गोप्य भिडियो खिचेर आफन्तलाई पठाइदिने धम्की दिँदै पटकपटक रकम मागेपछि एक पक्राउ

गोप्य भिडियो खिचेर आफन्तलाई पठाइदिने धम्की दिँदै पटकपटक रकम मागेपछि एक पक्राउ

काठमाडौं : आपराधिक लाभ लिने गरेको आरोपमा एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा म्याग्दीको म्याग्दी नगरपालिका–५ का ३० वर्षीय सन्तोष किसान रहेको प्रहरीले जनाएको छ। 

उनलाई गत सोमबार प्रहरीले काठमाण्डौंस्थित कोटेश्वरबाट पक्राउ गरेको हो। 

प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेका सन्तोषले शारीरिक सम्बन्धपछि गोप्य फोटो र तस्वीर खिचेर पीडित युवतीलाई पटकपटक ब्ल्याकमेलिङ गर्ने गरेको खुलेको छ। सन्तोष र ती युवतीको सुरुमा विभिन्न सामाजिक सञ्जालमार्फत चिनजान भएको र सम्बन्ध गाढा भएपछि विभिन्न प्रलोभन देखाएर शारीरिक सम्बन्ध स्थापित गरेको देखिएको प्रहरीले जनाएको छ। 

सन्तोषले ती युवतीको गोप्यरूपमा फोटो तथा भिडियो पनि खिचेको पाइएको छ। 

पछि तिनै गोप्य फोटो र भिडियो पीडितका आफन्तलाई विभिन्न माध्यमबाट पठाइदिने धम्की दिएर पटकपटक रकम माग्ने र फेरि शारीरिक सम्बन्ध स्थापित गर्न बाध्य पारेर आपराधिक लाभ लिने गरेको प्रहरीले जनाएको छ।

थप अनुसन्धानका लागि उनलाई जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ। 

जेठ १६, २०८१ बुधबार २०:१४:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।