गाँजा खेतीलाई वैधानिकता दिइने भएपछि शेरबहादुर खुसी, सरकारलाई दिए धन्यवाद

गाँजा खेतीलाई वैधानिकता दिइने भएपछि शेरबहादुर खुसी, सरकारलाई दिए धन्यवाद

काठमाडौं : गाँजा खेतीको पक्षमा निरन्तर वकालत गरिरहेका एमाले नेता शेरबहादुर तामाङ अगामी आर्थिक वर्षको बजेटमा गाँजा खेतीलाई वैधानिकता दिने सरकारको निर्णयले आफ्नो मागले सार्थकता पाएको बताएका छन्। 

बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै पूर्वकानुनमन्त्रीसमेत रहेका तामाङले विश्व स्वास्थ्य संगठनले पनि गाँजालाई औषधीय गुण भएको वनस्पति उल्लेख गरिसकेको भन्दै सरकारको यो निर्णय स्वागतयोग्य रहेको बताए। 

उनले भने, ‘गाँजा खेतीको व्यवस्थापन तथा नियमन गर्न बनेको विधेयकलाई २०७६  फागुन १९ गते गैरसरकारी विधेयकका रुपमा दर्ता गरेका थियौं। विश्व स्वास्थ्य संगठनले समेत गाँजा हानिकारक लागु औषधि होइन, औषधीय गुण भएको वनस्पति भएको बताएको छ। उसले यसलाई हानिकारक लागूऔषधको सूचीबाट हटाएको छ। पछि लामो समयसम्म पनि हामीले अघि सारेको विधेयक पास हुन नसकेको अवस्थामा गत आर्थिक वर्षको बजेटमा गाँजालाई औषधीय प्रयोजनको लागि खुला गर्ने बोलेको भए पनि सरकारले बाँकी प्रक्रिया अगाडि बढाएन। अहिले बजेटमा समेटेको छ।’

मंगलबार अगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले गाँजा खेतीलाई वैधानिकता दिई, आवश्यक कानुन बनाउने र कोदोको रक्सीको ब्राण्डिङको विषयमा वक्तव्य दिएका थिए। 

तामाङले भने, ‘हिजोमात्र संसदमा भएको बजेट भाषणको ४९ नम्बर बुँदामा गाँजाको औषधीय प्रयोजनका लागि यसको खेती गर्ने र आवश्यक कानुन बनाउने उल्लेख गरिएको छ। त्यसपछि बजेटकै ९४ नम्बर बुँदामा कोदोको रक्सीको उत्पादन, बजारीकरण र कानुनी व्यवस्था मिलाउने उल्लेख गरिएको छ। त्यसकारण सरकारलाई धेरै धन्यवाद दिन चाहन्छु।’

सरकारले गाँजाको वैधानिकताबारे बजेटमा समावेश गरिसकेको भन्दै अब प्रहरीले गाँजा फडानी गर्न आए प्रतिवाद गर्न समेत उनको आग्रह छ। 

जेठ १६, २०८१ बुधबार १७:५८:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।