पैसा कमाउन विदेश गएका ४००० नेपाली, जो कहिल्यै फर्किने छैनन्

पैसा कमाउन विदेश गएका ४००० नेपाली, जो कहिल्यै फर्किने छैनन्

काठमाडौं : धन कमाएर आउने र परिवारसँग सुखी जीवन बिताउने सुन्दर सपना बोकेर विदेश गएका हजारौं युवा अब कहिले पनि फर्किने छैनन्। संवैधानिक निकाय महालेखापरीक्षकले हालै सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा यो विवरण लेखिएको छ। 

महालेखाको प्रतिवेदन भन्छ, वैदेशिक रोजगारीमा गएर कहिल्यै पनि आफ्नो देश फर्किन नसक्ने नेपालीको संख्या सयमा होइन हजारमा गणना हुन्छ। 

वैदेशिक रोजगार बोर्डको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७७/७८ देखि २०७९/८० सम्म वैदेशिक रोजगारमा गएकामध्ये चार हजार ३५ नेपाली श्रमिकको मृत्यु भइसकेको छ। 

त्यसअवधिमा आठ सय ७० को अङ्गभङ्ग भएको छ भने कतिपय बिरामी छन्। गत तीन वर्षको श्रमिकको मृत्यु दर विश्लेषण गर्दा २०७७/७८ को तुलनामा २०७८/७९ मा पाँच प्रतिशत वृद्धि भएको र २०७८/७९ को तुलनामा २०७९/८० मा एक प्रतिशत घटेको छ। 

त्यस्तै, अङ्गभङ्ग तथा बिरामी श्रमिकको दर २०७७/७८ मा १८.५० प्रतिशत रहेकोमा २०७८/७९ मा ३१.९५ प्रतिशत र २०७९/८० मा ४९.५४ प्रतिशतले वृद्धि भएको छ। मृत्यु हुने श्रमिकको सङ्ख्यामा कमी आए तापनि अङ्गभङ्ग तथा बिरामीको दर बढ्दो क्रममा रहेको छ।

वैदेशिक रोजगारीमा गएका नेपाली कामदार सम्बन्धित देशको हावापानी, कामको चाप, मदिरा सेवन, कामदारबीच झैझगडा, पारिवारिक तनाव, स्थानीय कानुनको जानकारीको अभाव, मेसिनरी औजारको सञ्चालनमा हुने प्राविधिक त्रुटि, ट्राफिक दुर्घटना, विरामी, कार्यस्थल दुर्घटना, जलेर, निस्सासिएर, डुबेरलगायतका कारणले मृत्यु, अङ्गभङ्ग तथा बिरामी परेको प्रतिवेदनमा उल्लेख छ। 

यस वर्ष भएको कुल मृत्यु एक हजार २५० मध्ये मलेसियामा २७.९६ प्रतिशत, साउदी अरबमा २६.३६ प्रतिशत, संयुक्त अरब इमिरेट्समा १७.९८ प्रतिशत, कतारमा १७.२३ प्रतिशत, कुवेतमा ६.०४ र अन्य देशमा ४.४३ प्रतिशत रहेको छ। 

वैदेशिक रोजगारीमा रहेका कामदारको गन्तव्य मुलुकमा मृत्यु भएमा मृतकको शव अन्तिम सँस्कारको लागि परिवारलाई हस्तान्तरण गर्न वैदेशिक रोजगार बोर्डबाट रकम निकासा हुने गरेको छ। यो वर्ष शव व्यवस्थापनमा रू दुई करोड ८५ लाख ८० हजार खर्च भएको प्रतिवेदनमा जनाइएको छ।

बोर्डबाट वैधानिक रूपमा रोजगारीमा रहेका कामदारको मात्र शव व्यवस्थापनको लागि रकम निकासा हुने गरेकोले गैरकानुनी रूपमा रहेका श्रमिकको मृत्यु भएमा शव व्यवस्थापनमा समस्या हुने गरेको नियोगहरूले उल्लेख गरेका छन्। वैदेशिक रोजगार व्यवसायी, रोजगारदाता कम्पनी, गन्तव्य मुलुकका सम्बन्धित निकायको कारणसमेत श्रमिकहरू गैरकानूनी आप्रवासन हुने अवस्था देखिएको छ। अवैधानिक रूपमा रहेका र अलपत्र परेका कामदारलाई सुरक्षित आवासगृहमा राखी उद्धारसमेत गरेको स्थिति छ। 

वैदेशिक रोजगार नियमावली, २०६४ को नियम २८ मा वैदेशिक रोजगारीमा गएको कुनै कामदारको करार अवधिभित्र कुनै कारणले मृत्यु भएमा मृतक श्रमिकको नजिकको हकवालालाई वैदेशिक रोजगार कोषबाट प्रारम्भमा तीन लाख र २०७४ साउन १६ गतेदेखि  सात लाख आर्थिक सहायता उपलब्ध गराउने व्यवस्था छ। वैदेशिक रोजगार बोर्डबाट प्राप्त विवरणअनुसार विगत पाँच वर्षमा पाँच हजार ५११ मृतक श्रमिकतर्फ तीन अर्ब तीन करोड ९८ लाख र १५ अङ्गभङ्ग तथा बिरामी श्रमिकतर्फ ४३ करोड ८४ लाख ७२ हजार आर्थिक सहायता उपलब्ध गराएको छ। 

जेठ १६, २०८१ बुधबार १६:२६:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।