'नयाँ चरणको आर्थिक सुधारलाई ध्यानमा राखेर बजेट ल्याएको छौं'

'नयाँ चरणको आर्थिक सुधारलाई ध्यानमा राखेर बजेट ल्याएको छौं'

काठमाडौँ : अर्थमन्त्री वर्षमान पुनले नयाँ चरणको आर्थिक सुधारलाई ध्यानमा राख्दै अगामी आर्थिक वर्ष २०८१/८२ को बजेट ल्याएको बताएका छन्।

बुधबार अर्थ मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्री पुनले बजेटमार्फत नयाँ चरणको आर्थिक सुधार गर्नका लागि उच्चस्तरीय आयोग गठन गरेर विज्ञहरूसँग विगतको कामको समीक्षा गर्दै रोड म्याप प्रस्तुत गर्न सक्नेगरी लामो अन्तरक्रिया गरिने बताए। 

‘हामीले हाम्रो भौगोलिक अर्थतन्त्रमा सुहाउँदो अर्थनीति, आफ्नो अवस्थिति, जनशक्तिअनुसार जनताका क्षमताअनुसारका र छिमेकमा कस्तो अर्थतन्त्र विकास भइरहेको छ। हाम्रो भौगोलिक अवस्थितिले के मा प्रतिस्पर्धी हुन सक्छ त्यो कुराको पनि कोसिस गरेका छौं’, उनले भने, ‘त्यसैले यो सबै कुरालाई ध्यान दिएर अब नयाँ चरणको आर्थिक सुधार मार्फत मात्रै हामी देशलाई गति दिन सक्छौ भन्ने निष्कर्षमा पुगेर प्रस्तुत गर्ने कोसिस गरेका छौं। नयाँ चरणको आर्थिक सुधारका लागि उच्चस्तरीय आयोग नै गठन गरेर लामो अन्तरक्रिया जनतासँग, विज्ञहरूसँग गरेर एउटा रोड म्याप प्रस्तुत गर्न सकोस् भन्ने सुरुमा नै प्रस्ताव गरेको छौं।’

मन्त्री पुनले पूर्वाधारहरू पूर्वाधारका लागि मात्र नबनेको भन्दै पूर्वाधारलाई आर्थिक केन्द्रहरूको रुपमा विकास गर्ने अवधारणा अगाडि सारेको बताए। 

‘जति पूर्वाधारहरू बनेका छन् ती पूर्वाधारहरू पूर्वाधारका लागि मात्र बनेको होइनन्। सडक सञ्जाल एयरपोर्ट लगायतका पूर्वाधारहरूलाई आर्थिक पूर्वाधारको रुपमा अथवा आर्थिक करिडोरहरूको विकास गर्ने अवधारणा अगाडि सारेका छौं’, उनले भने। 

अर्थमन्त्री पुनले रुग्ण अवस्थामा रहेका उद्योगको सञ्चालन सहजरुपमा गर्न नसकिने स्थिति नरहेको उल्लेख गर्दै ती उद्योगलाई चलाउनका लागि सरकारले नयाँ रणनीति लिने दाबी गरे। 

स्थानीय तहलाई आर्थिक, राजनीतिक र प्रशासनिक केन्द्रका रुपमा विकास गर्ने लक्ष्यसहित आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट ल्याइएको उनको भनाइ छ।  

जेठ १६, २०८१ बुधबार १५:०३:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।