रिटकर्ताको निवेदनपछि गृहमन्त्री लामिछाने र महान्यायाधिवक्ताविरुद्धको सुनुवाइ स्थगित

रिटकर्ताको निवेदनपछि गृहमन्त्री लामिछाने र महान्यायाधिवक्ताविरुद्धको सुनुवाइ स्थगित

काठमाडौं : सहकारी ठगीको अनुसन्धानमा नरहेको भन्दै गृहमन्त्री रवि लामिछानेलाई महान्यायाधिवक्ता कार्यालयले दिएको पत्र खारेजी र अनुसन्धान चलिरहेसम्म उनलाई पदबाट निलम्बन गर्न माग गर्दै दायर रिटको सुनुवाइ स्थगित भएको छ।

सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा सुनुवाइ तोकिएकोमा निवेदक अनुपम भट्टराईले सुनुवाइ स्थगन गर्न निवेदन दिएपछि बुधवारको सुनुवाइ स्थगित भएको हो।

रिटको पेशी पोखरेलको इजलासमा १०औं नम्बरमा थियो। पोखरेल अधिवक्ता रहँदा उनले नागरिकताको मुद्दामा लामिछानेको तर्फबाट बहस गरेका थिए।

रिटमा पत्र खारेज, सहकारी ठगीको अनुसन्धान अगाडि बढाउन आदेश र अनुसन्धानको अवधिभर लामिछानेलाई पदबाट निलम्बनको माग गरिएको थियो।

महान्यायाधिवक्ता कार्यालयले गृहमन्त्री लामिछानेविरुद्ध सहकारी ठगीमा कतै जाहेरी नपरेको र अभियोजन समेत नभएको भन्दै दिएको पत्र सार्वजनिक भएपछि विवाद भएको थियो।

त्यही पत्रमाथि कानुनी प्रश्न उठाउँदै भट्टराइले रिट दिएका थिए। पहिला रिट दरपिठ भएकोमा पछि सर्वोच्च अदालतकै आदेशमा रिट दर्ता भएर बुधबारका लागि पेशी तोकिएको थियो।

जेठ १६, २०८१ बुधबार १३:३३:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।