मुद्रण व्यवसायीको दुखेसो : करको दर धेरै हुँदा पलायनको स्थिति आयो
मकवानपुर : मुद्रण व्यवसायीले सरकारको औद्योगिक तथा भन्सार नीतिको चरम मारमा आफूहरू परेको गुनासो गरेका छन्।
नेपाल मुद्रण उद्योग महासंघको मंगलबारबाट हेटौंडामा सुरू भएको केन्द्रीय समितिको बैठक अगाडि पत्रकार सम्मेलन गर्दै व्यवसायीहरूले मुद्रणसँग सम्बन्धित कागज तथा कच्चा पदार्थमा २८ प्रतिशत कर लाग्ने गरेको बताएका हुन्।
पत्रकार सम्मेलनमा बोल्दै महासंघ केन्द्रीय अध्यक्ष विष्णु तिवारीले सरकारको असमान नितीका कारण ४ हजारको हाराहारीमा मुद्रण उद्यमी पलायनको अवस्थामा पुगको बताए। यसबाट करिब ९० हजार रोजगारदाता प्रभावित हुन पुगेको उनको भनाइ थियो।
मुद्रण उद्योग व्यवसायका अतिरिक्त कला, सृजना, कल्पना, भावना र विद्याप्रतिको समर्पण भएको भन्दै महासंघले व्यवसाय र सेवा भावको उच्च रूपमा रहेको यस उद्योगलाई अन्य उद्योगसँग तुलना गर्न नहुने बताएको छ।
कोरोना तथा आर्थिक मन्दिको मारमा परेका मुद्रण उद्योगी आफ्नो लयमा फर्कन संघर्ष गरिरहेको समयमा सरकारले लिएको औद्योगिक तथा भन्सार नीतिको चरम मारमा पर्दै परेको महासंघले जनाएको छ।
नेपालका मुद्रण उद्योगलाई आवश्यक कच्चा पदार्थमा चरम कर लगाएको सरकारले विदेशमा मुद्रण गरी नेपाल भित्र आयात गरिने पाठ्यपुस्तक लगायतका मुद्रित सामाग्रीहरूमा कर छुट तथा न्यून कर लिने गरेको महासंघको आरोप छ।
यसले विदेशी मुद्रण उद्योगसँग प्रतिस्पर्धा गर्न नसकी स्वदेशी मुद्रण उद्योग धराशायी बन्न थालेको महासंघको भनाइ छ।
पछिल्लो १० महिनामा मात्रै ४ अर्ब ८ करोड बराबरको छपाइ जन्य सामाग्री आयात हुँदा ४ करोड ३८ लाख बराबरको मात्र निर्यात भएको महासंघले जनाएको छ। व्यवसायीले बजेटमा सम्बोधन गर्न सरकारलाई ११ बुँदे ध्यानाकर्षण पत्रसमेत बुझाएको बताएका थिए।
जेठ १६, २०८१ बुधबार ०८:०४:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।