स्पेनपछि नर्वे र आयरल्याण्डद्वारा प्यालेस्टाइनलाई राष्ट्रको रूपमा मान्यता

स्पेनपछि नर्वे र आयरल्याण्डद्वारा प्यालेस्टाइनलाई राष्ट्रको रूपमा मान्यता

एजेन्सी : स्पेनपछि नर्वे र आयरल्याण्डले प्यालेस्टाइनलाई राष्ट्रको रूपमा मान्यता दिएका छन्।

स्पेन, नर्वे र आयरल्याण्ड प्यालेस्टाइनलाई राज्यको रूपमा मान्यता दिने १४० भन्दा बढी देशहरूमा सामेल भएका छन्।

आयरल्याण्डले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘सरकारले प्यालेस्टाइनलाई सार्वभौम र स्वतन्त्र राज्यको रूपमा मान्यता दिएको छ। हामी डब्लिन र रामल्लाहबीच कूटनीतिक सम्बन्ध स्थापना गर्ने सहमति गरेका छौँ।’

रामल्लामा आयरल्याण्डको दूतावास स्थापना गरेर राजदूत नियुक्त गर्ने जनाएको छ।

यस्तै नर्वेले पनि प्यालेस्टाइनलाई राष्ट्रको रूपमा मान्यता दिँदै त्यसलाई ‘विशेष दिन’को संज्ञा दिएको छ। उसले विगत ३० वर्षदेखि प्यालेस्टाइन राज्यको सुरक्षाका लागि प्रतिबद्ध रहेको जनाएको छ।

नर्वेली सरकारले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘प्यालेस्टाइनको लागि राज्य बन्नु नर्वे-प्यालेस्टाइन सम्बन्धको लागि विशेष महत्व छ।’

स्पेनले पनि मंगलबार प्यालेस्टाइनलाई आधिकारिक रूपमा राष्ट्रको दर्जा दिएको छ।

स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले यो निर्णयको एकमात्र उद्देश्य इजरायल र प्यालेस्टाइनबीचको शान्ति प्रयासमा योगदान पुर्याउनु भएको बताएका छन्।

प्रधानमन्त्रीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘प्यालेस्टाइनलाई राष्ट्रको रूपमा मान्यता दिनु इतिहासको न्यायको कुरा मात्र होइन, यो समयको आवश्यकता पनि हो। यो शान्तिपूर्ण समाधान खोज्ने एक मात्र उपाय हो।’

जेठ १६, २०८१ बुधबार ०७:२७:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।