सीके राउतले गणतन्त्रलाई किन 'सडेगलेको व्यवस्था' भने ?

सीके राउतले गणतन्त्रलाई किन 'सडेगलेको व्यवस्था' भने ?

काठमाडौं : जनमत पार्टीका अध्यक्ष डा सीके राउतले वर्तमान व्यवस्था सडेगलेको व्यवस्था भइसकेको भन्दै स्वीकार गर्न नसकिने बताएका छन्। 

जनमत पार्टीको आव्हानमा मंगलबार आयोजित ‘नौलो गणतन्त्र आन्दोलन उद्घोष’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान व्यवस्था, राजनीतिक दल र सरकारबाट अपेक्षित काम नभएको उल्लेख गर्दै आफूहरू चुप लागेर नबस्ने बताएका हुन्। 

उनले भने, ‘या त यही व्यवस्थामा बाँच्न सिक्नुपर्यो कि त यो व्यवस्था बदल्नका लागि तयार रहनुपर्यो। कि सडेगलेको व्यवस्था स्वीकार्नु पर्यो कि त यसलाई बदल्नका लागि अगाडि बढ्नु पर्यो। यो देशलाई नै विकल्प दिनका लागि जनमत पार्टी यहाँ भेला भएको छ। वर्तमान व्यवस्था, राजनीतिक दल र सरकारले देशलाई निकास दिन सकेन, अब चुप लागेर बस्ने त?’

आफूसँग भएको बिउलाई देशभर फैलाएर छिट्टै नै नयाँ गणतन्त्रको उद््घोष गर्ने उनको भनाइ छ। 

‘हामीकहाँ संख्या सानो होला तर, यो बिज हो, देशभर फैलाउँछौं। हामी नयाँ गणतन्त्रको उद्घोष यहाँबाट गर्नेछौं,’ उनले भने। 

अध्यक्ष राउतले हल्ला गरेर मात्र देशको विकास गर्न नसकिने उल्लेख गर्दै जनतालाई देखाएका सपनाहरु पूरा गर्न नौलो गणतन्त्र आवश्यक भएको जिकिर गरे। 

उनले भने, ‘जबसम्म हामी देशलाई निकास दिँदैनौं, जबसम्म हामी जनतालाई देखाएका सपना पुरा गर्दैनौं, तबसम्म तपाईँहरुको साथ रहनेछ भन्ने विश्वास लिएको छु। खालि हामी हल्ला गरेर मात्र त अगाडि बढ्न सक्दैनौँ। राजनीतिक दल, संसद र सरकारबाट उपलब्धि भएन, अब के गर्ने? चुप लागेर बस्ने त? कि त देशबाट पलायन हुनु पर्यो। नभए यही बेरोजगार व्यवस्थालाई स्वीकार्नु पर्यो, भोक र रोग स्वीकार्नु पर्यो। तपाईँहरू साथ दिनुस् हामी नौलो गणतन्त्र लिएरै छाड्छौँ।’

जेठ १५, २०८१ मंगलबार २१:११:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।