संसदीय समितिका सात सांसदको जिम्मामा २९ सहकारीको एक खर्ब ४६ अर्बको छानबिन, दायरामा तीन मन्त्री पनि

संसदीय समितिका सात सांसदको जिम्मामा २९ सहकारीको एक खर्ब ४६ अर्बको छानबिन, दायरामा तीन मन्त्री पनि

काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी छानबिनको लागि संसदीय समिति बन्नु पर्ने माग गरेसँगै सरकारले २० सहकारी र नौ सहकारीको सञ्चालकहरूसहितबारे छानबिन गर्न संसदीय समिति गठन गर्यो। ती २९ सहकारीमा बचतकर्ताहरूको १ खर्ब ४६ अर्ब १० करोड रकम रहेको छ।

बचतकर्ताहरूको रकम अपचलनको निष्पक्ष छानबिन गरेर कारबाहीको सिफारिसको जिम्मेवारी एमालेका सांसद सूर्य थापाले पाएका छन्। उनी प्रतिनिधि सभाले पारित गरेको विशेष छानबिन समितिको संयोजक भएका छन्।

समितिका सदस्यहरूमा कांग्रेसबाट ईश्वरीदेवी न्यौपाने र बद्रीप्रसाद पाण्डे, एमालेबाट सरिता भुसाल, माओवादी केन्द्रबाट लेखनाथ दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल र राप्रपाबाट ध्रुवबहादुर प्रधान सदस्य रहेका छन्। समितिमा सत्तापक्षबाट संयोजकसहित चार जना र विपक्षबाट तीन जना रहेका छन्।

गृहमन्त्री रवि लामिछाने जोडिएको सहकारीको रकम अपचलनबारे छानबिन गर्न कांग्रेसले गरेको माग अनुसार संसदीय छानबिन समिति गठन गर्दा रवि-जीवी राई संलग्न देखिएका ६ सहित अन्य २३ सहकारी समेत समितिको छानबिनको कार्यक्षेत्रमा समेटियो।

कार्यक्षेत्रमा थप सहकारी जोडिदा रवि लामिछानेसँगै वर्तमान सरकारका अन्य दुई मन्त्री ऊर्जाका शक्तिबहादुर बस्नेत र श्रममन्त्री डिपी अर्याल समेत अनुसन्धानको दायरामा तानिएका छन्।

संसदीय समितिको कार्यक्षेत्रमा जीवी राई, सुधीर बस्नेत, केबी उप्रेती, रामबहादुर गौतमदेखि भरत महर्जनसम्म तानिएका छन्।

जीवी समूहको मात्रै ६ सहकारी छानबिनमा

संसदीय छानबिन समितिको दायरामा आएका २९ मध्ये ६ वटा जीवी राई समूहका सदस्यहरू संलग्न रहेको देखिन्छ। जीवी समूहको सहारा बचत तथा ऋण सहकारीमा ८७ करोड २१ लाख बचत देखिन्छ। यसका अध्यक्ष सागर केसी हुन् भने पूर्व अध्यक्ष जीवी हुन्।

२० करोड कारोबार देखिएको समानता बचत तथा ऋण सहकारीको अध्यक्ष जीवी राई नै हुन्। सानो पाइला बचत तथा ऋण सहकारी अध्यक्ष अनन्तबाबु राई छन् भने कोषाध्यक्षमा कुमार रम्तेल छन्। यसमा बचतकर्ताहरूको १ अर्ब २० करोड बचत रहेको छ।

सुप्रिम बचत तथा ऋण सहकारीमा १ अर्ब ५१ करोड बचत देखिन्छ। यसका अध्यक्ष ओम प्रकाश गुरुङ,  सचिव कुमार रम्तेल हुन्। पूर्व सचिव दीपेश पुन हुन्।

सूर्यदर्शन बचत तथा ऋण सहकारीमा १ अर्ब ५५ करोड बचत रहेको खुलेको छ। यसका अध्यक्ष थानबहादुर बुढा, कोषाध्यक्ष कुमार रम्तेल र  स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारीमा अध्यक्ष जीवी राई र कोषाध्यक्षमा कुमार रम्तेल छन्। यसको बचत ३  अर्ब ५३ करोड देखिन्छ।

यी सबै गरेर जीवी समूहले अपचलन गरेको सहकारीहरूमा मात्र बचतकर्ताहरूको ६ अर्ब ८९ करोड २० लाख बचत रहेको देखिन्छ।

कुन सहकारीको कति रकम ?

ओरेण्टल को अपरेटिभ लिमिटेड

यसका अध्यक्ष सुधीर बस्नेत हुन्। यसमा बचतकर्ताहरूको १६ अर्ब रकम बचत रहेको छ। लामो समयदेखि बचतकर्ताहरू रकम फिर्ताको लागि पहल गरिरहे पनि उनले फिर्ता दिन सकेका छैनन्।

स्ट्याण्डर्ड सेभिङ एन्ड क्रेडिट को-अपरेटिभ

स्ट्याण्डर्ड सहकारीका अध्यक्ष खेमराज निरौला र सञ्चालक राजु श्रेष्ठ ठगीको आरोपमा कारागारमा छन्। यसमा बचतकर्ताहरूको ११ करोड ८ लाख बचत रहेको छ।

प्यासिफिक सेभिङ एन्ड इन्भेस्टमेन्ट को-अपरेटिभ

यसका अध्यक्ष धीरेन्द्र मानन्धर हुन्। यसमा बचतकर्ताहरूको ४८ करोड ७३ लाख बचत रहेको छ।

प्रभु बचत तथा ऋण सहकारी संस्था

यसको अध्यक्ष खुशचन्द्र श्रेष्ठ हुन्। सहकारी सङ्कटमा परेदेखि उनी फरार छन्।  यसमा बचतकर्ताहरूको १३ करोड २० लाख बचत रहेको छ।

कोहिनुर हिल सेभिङ एन्ड क्रेडिट को-अपरेटिभ

कोहिनुर हिल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नरेश प्रसाद श्रीवास्तव हुन्। यसमा बचतकर्ताहरूको २ करोड ४१ लाख बचत रहेको छ।

कन्जुमर बचत तथा ऋण सहकारी संस्था

यसको अध्यक्ष राजेश आचार्य हुन्। अनुसन्धानमा यो सहकारी  ओरियन्टलकै शाखाको रूपमा रहेको खुलेको थियो। यसमा बचतकर्ताहरूको ४ करोड ३४ लाख बचत फसेको छ।

कुवेर बचत तथा ऋण सहकारी संस्था

यो सहकारीका अध्यक्ष रमेश भण्डारी हुन्। सहकारी विभागले यसलाई सङ्कटग्रस्त घोषणा गरिसकेको छ। यसमा वचतकर्तहरको ५७ लाख फसेको छ।

चार्टर्ड सेभिङ एन्ड क्रेडिट को-अपरेटिभ

कमलादीमा रहेको चार्टड बचत तथा बचत सहकारी संस्थाका अध्यक्ष युवराज अर्याल हुन्। यो सहकारीमा बचतकर्ताको ८४ लाख फसेको छ।

भेगास बचत तथा ऋण सहकारी संस्था

यो संस्थामा बचतकर्ताहरूको १ करोड ६५ लाख फसेको छ। 

स्ट्याण्डर्ड मल्टिंप्रपोज को अपरेटिभ लिमिटेड

यो सहकारीमा बचतकर्ताहरूको ७५ लाख फसेको छ।

सोसाइटल बचत तथा ऋण सहकारी संस्था

यो सहकारीमा बचतकर्ताहरूको १० करोड ८७ लाख रुपैयाँ फसेको छ।

लुःनिभा बहुउद्देश्यीय सहकारी संस्था

यसमा बचतकर्ताहरूको ११ करोड ७४ लाख बचत फसेको छ।

पशुपति सेभिङ क्रेडिट को-अपरेटिभ लिमिटेड

यो सहकारीमा बचतकर्ताहरूको १ अर्ब ११ करोड ४८ लाख बचत रहेको खुलेको छ। काभ्रेका सीबी लामाले पहिला कान्तिपुर सहकारी खोलेर पछि पशुपति बचत तथा ऋण सहकारी खोलेका थिए। उनले पशुपति सहकारीको अध्यक्ष श्रीमतीलाई बनाएका थिए।

शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड

केदारनाथ शर्मा न्यौपाने अध्यक्ष रहेको यो सहकारीमा बचतकर्तहरुको ९ अर्ब ६२ करोड १९ लाख रकम फसेको छ। उनले सहकारीमा रहेका बचतकर्ताहरूको रकमबाट व्यक्तिगत कम्पनीहरू खोलेर बचत जोखिममा पारेका थिए।

तुलसी बहुमुखी सहकारी संस्था लिमिटेड

बचतकर्ताहरूको १ अर्ब ५५ करोड ३९ लाख रकम अपचलन गरेको खुलेको तुलसी सहकारीको अध्यक्ष पनि केदारनाथ शर्मा नै हुन्। उनले काठमाडौँमा शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था खोलेका थिए भने मोरङमा तुलसी बहुमुखी सहकारी खोलेर बचतकर्ताहरूको रकम अपचलन गरेका थिए।

हाम्रो नयाँ कृषि सहकारी संस्था लिमिटेड

हाम्रो नयाँ कृषि सहकारीका संस्थापक अध्यक्ष वर्तमान उर्जामन्त्री शक्तिबहादुर बस्नेत हुन् भने पूर्व उपाध्यक्ष श्रममन्त्री डिपी अर्याल हुन्। यसमा बचतकर्तहरुको ७ करोड ७७ लाख रकम रहेको सार्वजनिक भएको थियो।

कृषि विकास बहुउद्देश्यीय सहकारी संस्था

ललितपुरको कुमारीपाटीमा रहेको यो सहकारीको अध्यक्ष तेजविक्रम थापा हुन्। यसमा सर्वसाधारणको २ अर्ब ८२ करोड २७ लाख बचत फसेको खुलेको थियो।

कान्तिपुर सेभिङ एन्ड क्रेडिट को-अपरेटिभ लिमिटेड

६ अर्ब ७८ करोड ५१ लाख रकम जोखिममा देखिएको यो सहकारीका अध्यक्ष काभ्रेका सीबी लामा हुन्। सहकारीमा रहेको बचतकर्ताहरूको रकम उनले जग्गामा लगानी गरेका थिए। बचतकर्ताको रकम उनले अस्पताल, डिपार्टमेन्ट स्टोर लगायतमा व्यक्तिगत रूपमा लगानी गरेका थिए।

लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था

यसमा बचतकर्ताहरूको ६ अर्ब बचत रहेको छ। लालीगुराँसका प्रमुख कार्यकारी अधिकृत तथा सचिव सुरेन्द्र भण्डारीलगायत सञ्चालकले सहकारीको बचतबाट लालीगुराँस हस्पिटल, जय लालीगुराँस इन्भेस्टमेन्ट एन्ड ट्रेडिङ कम्पनी प्रालि, भैरवकुन्ड हाइड्रोपावर प्रालि, श्री लालीगुराँस डेरी फार्म एन्ड रिसर्च सेन्टर लगायतका कम्पनी चलाएको खुलेको थियो।

गौतम श्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड

कुलेश्वरमा रहेको यो सहकारीको अध्यक्ष रामबहादुर गौतम हुन्। सहकारीमा ५ अर्ब बढी सर्वसाधारणको बचत रहेको खुलेको थियो। फरार रहेका गौतम फर्किएर बचतकर्ताको रकम फिर्ता दिने दाबी गरे पनि उनले फिर्ता नदिएपछि यो सहकारी समस्याग्रस्त सूचीमा परेको छ।

आईडियल यमुना बहुउद्देश्यीय संस्था

यो सहकारीका अध्यक्ष केबी उप्रेती सहकारी अभियन्ताका रूपमा परिचित छन्। उनी एमालेको केन्द्रीय सहकारी विभागको सचिव समेत हुन्। उनी राष्ट्रिय सहकारी बैङ्कको अध्यक्ष हुन्। यो सहकारीमा बचतकर्ताहरूको ८ अर्ब बचत रहेको छ।  

इमेज बचत तथा ऋण सहकारी संस्था लि

बचतकर्ताको १ अर्ब ३० करोड रकम सङ्कटमा पारेको इमेजको अध्यक्ष ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली हुन्। एमालेबाट निर्वाचित उनी फरार छन्।

सुमेरु बचत तथा ऋण सहकारी

ललितपुरको चर्चित सुमेरु सहकारीका अध्यक्ष भरत महर्जनमाथि बचतकर्ताहरूको १० अर्ब ३४ करोड रकम अपचलन गरेको आरोप छ। सुमेरु अस्पताल अनि एसियन कलेज चलाएका उनी अहिले फरार छन्।

जेठ १५, २०८१ मंगलबार १८:५३:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।