पर्यटन क्षेत्रमा ११ अर्ब ९१ करोड विनियोजन, केके कार्यक्रम समेटिए ?

पर्यटन क्षेत्रमा ११ अर्ब ९१ करोड विनियोजन, केके कार्यक्रम समेटिए ?

काठमाडौं : सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ मा पर्यटन पूर्वाधार विकासका लागि ५ अर्ब ४६ करोड विनियोजन गरेको छ। 

मंगलबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/०८२ को वार्षिक बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले नयाँ गन्तव्यको पहिचान तथा मौजुदा गन्तव्यको विकास र प्रवर्द्धनका लागि पर्यटकीय गन्तव्यको प्रोफाइल तयार गरिने बताए। 

छिमेकी पर्यटकलाई आकर्षित गर्नको लागि पनि सकारले विभिन्न कार्यक्रम ल्याएको उनले बताए। जसमा छिमेकी मुलुक भारत र चीन सँगै अन्य मुलुकको प्रमुख सहरमा पर्यटक लक्षित रोड, मेला महोत्सव जस्ता पर्यटन प्रवर्द्धन कार्यक्रम संचालन गर्दै सिमावर्ती पर्यटनको समेत विकास गरिने छ। 

धार्मिक पर्यटनको हकमा भने निजी क्षेत्रको सहकार्यमा नेपाल भारत सीमा नाकाबाट पशुपतिनाथ, स्वर्गद्वारी, मुक्तिनाथ दर्शनको लागि यातायात सेवा संचालन गराइने उनले बताए। त्यस्तै, बुद्ध परिपथ, शिव परिपथ, रामायण परिपथ, किराँत संस्कृति परिपथको मार्ग निर्धारण गरि पर्यटन प्रवर्द्धनको गर्नको लागि समेत सरकारले बजेट छुट्याएको छ।

बजेटमा सातै प्रदेश समेटिने गरि चुरे, पहाडी र हिमाली क्षेत्रका प्रमुख गन्तव्य स्थलमा टाकुरा पर्यटकीय गन्तव्य तथा मनोरञ्जन पूर्वाधार सहितका 'इको हिल स्टेसन’ समेत सरकारले निर्माण गर्ने भएको छ। 
 
त्यसैगरी पुराना प्रचलनमा रहेका पदमार्गहरुको संरक्षण गर्दै ग्रेट हिमालयन ट्रेल, मुन्धुम ट्रेल र गुरिल्ला ट्रेल लगायतका पर्यटकीय पूर्वाधारका विकासलाई समेत सरकारले प्राथमिकतामा राखेको छ। सम्भावित जोखिम युक्त क्षेत्रमा भने पर्यटकीय उद्धार केन्द्र स्थापना गरिने छ। 

आगामी वर्ष देशलाई विवाह गन्तव्यको रुपमा समेत विकास गरिने सरकारको लक्ष छ ।

जेठ १५, २०८१ मंगलबार १७:२४:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।