टुँडिखेलमा यसरी मनाइयो १७ औं गणतन्त्र दिवस (तस्बिरहरू)

टुँडिखेलमा यसरी मनाइयो १७ औं गणतन्त्र दिवस (तस्बिरहरू)
तस्बिर : नेपाल न्युज बैंक

काठमाडौं : आज १७ औं गणतन्त्र दिवस। नेपाली जनताको सङ्घर्ष, बलिदान र परिवर्तनसँग जोडिएको गणतन्त्र स्थापनाका अवसरमा आज राष्ट्रिय दिवस मनाइँदैछ। दिवसका अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ।

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को सशस्त्र युद्ध र सात संसदवादी राजनीतिक दलको शान्तिपूर्ण आन्दोलनको जगमा तत्कालीन राजा ज्ञानेन्द्र शाहले आफ्नो प्रत्यक्ष शासनसत्तालाई जनतालाई फिर्ता गर्दै २०६३ वैशाख ११ गते तत्कालीन संसद् पुनःस्थापना गरेका थिए। त्यसपछि गठित सरकारबाट भएको संविधानसभाको निर्वाचनबाट निर्वाचित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते व्यवस्थापिका-संसद्बाट गणतन्त्र स्थापनाको घोषणा गरेको थियो। यही ऐतिहासिक दिनलाई प्रत्येक वर्ष गणतन्त्र दिवसका रूपमा मनाइन्छ।

 

गणतन्त्र दिवसको अवसरमा आज काठमाडौंको टुँडिखेलस्थित सैनिक मञ्चमा गणतन्त्र मूल समारोह समितिले विशेष समारोह आयोजना गरेको छ। समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल उपस्थित भएका छन्। त्यस्तै, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपप्रधानमन्त्री, मन्त्रीहरू, सांसदहरू, नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू, सुरक्षा अंगका प्रमुखहरू लगायत सहभागी थिए।

गणतन्त्र दिवसका अवसरमा सैनिक कवाजका अतिरिक्त विभिन्न सांस्कृतिक झाँकीहरू पनि प्रस्तुत गरिएको थियो। तीनै तहका सरकारले विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाउँदैछन्। 

जेठ १५, २०८१ मंगलबार १४:४८:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।