सहकारी रकम अपचलनको संसदीय छानबिन समितिको दायरामा तीन मन्त्री

सहकारी रकम अपचलनको संसदीय छानबिन समितिको दायरामा तीन मन्त्री

काठमाडौँ : सहकारीमा रहेका बचतकर्ताहरूको रकम अपचलनबारे छानबिन हुने संसदीय समितिले गृहमन्त्री रवि लामिछाने जोडिएको मात्र हैन उर्जामन्त्री शक्ति बस्नेत र श्रममन्त्री डिपी अर्याल जोडिएको हाम्रो नयाँ कृषि सहकारी संस्था लिमिटेडको समेत छानबिन गर्ने भएको छ।

संसदीय छानबिन समितिको कार्यक्षेत्रको पहिलो अनुसूचीमा रहेको १९ सहकारीमध्ये हाम्रो नयाँ कृषि सहकारी संस्था लिमिटेडको नाम १६ औँ नम्बरमा रहेको छ।

हाम्रो नयाँ कृषिमा रहेको पाँच करोड रकम अपचलन भएको सार्वजनिक भएसँगै यसको संस्थापक अध्यक्षमा उर्जामन्त्री बस्नेत र उपाध्यक्षमा डिपी अर्याल रहेको सार्वजनिक भएको थियो।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले यो सहकारीको केही व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान सुरु गरे पनि अपचलन गरेको रकम फिर्ता गर्न मानेको भन्दै बिचैमा अनुसन्धान सक्काएर बदनियतका साथ रिहा गरेका थिए।

अनुसूची २ मा अध्यक्ष जीवी राई र तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने रहेको गोर्खा मिडिया प्रालीमा अनधिकृत रूपमा बचत गएको सहकारीहरूको नाम अनुसूची दुईमा राखिएको छ। दोस्रो अनुसूचीमा जीवी र रवि जोडिएका सहारा बचत तथा ऋण सहकारी, समानता बचत तथा ऋण सहकारी, सानो पाइला बचत तथा ऋण सहकारी, सुप्रिम बचत तथा ऋण सहकारी, सूर्यदर्शन बचत तथा ऋण सहकारी र स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारीको नाम उल्लेख छ।

मङ्गलवार संसदीय छानबिन समितिको कार्यक्षेत्र टुङ्ग्याएको कानुनमन्त्री पदम गिरीको संयोजकत्वको कार्यदलको प्रतिवेदनमा २९ वटा सहकारीको नाम राखिएको छ। अन्य सहकारीहरूमा समस्याग्रस्त सूचीमा रहेका र प्रहरीको अनुसन्धानको दायरामा रहेका सहकारीहरूको नाम समेत छ।

छानबिन समितिको अवधि तीन महिना हुने र समितिमा ७ जना सदस्य रहने प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदन अनुसार सात सदस्यमध्ये एमालेबाट दुई, माओवादीबाट २, कांग्रेसबाट २ र राप्रपाबाट एक जना रहनेछन्। समितिमा सत्तापक्षबाट चार सदस्य रहने छन्।

सम्बन्धित समाचार

जेठ १५, २०८१ मंगलबार १४:४२:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।