‘टिकटक र म्युजिक भिडियोभन्दा फिल्ममा गाह्रो’

‘टिकटक र म्युजिक भिडियोभन्दा फिल्ममा गाह्रो’

काठमाडौं : कोभिड-१९ को समयमा धेरैका लागि प्लेटफर्म बन्यो टिकटक।

आफूलाई मन परेको गीत तथा डाइलकमा १५ सेकेण्डको भिडियोमा बनाउने प्लेटफर्म आइसकेपछि धेरैका लागि कलाकार बन्ने अवसर जुर्यो।

१५ सेकेण्डको भिडियोमा लिप्सिङ गरेपछि दर्शकमाझ लोकप्रिय बनेका धेरै टिकटकरले म्युजिक भिडियोमा काम गर्ने अवसर पाए। सोही भिडबाट उदाएकी मोडल तथा कलाकार हुन्, गरिमा शर्मा।

टिकटकमा राम्रो फ्यान फलोइङ भएकी गरिमाले तीन/चार वटा फिल्ममा समेत अभिनय गरिसकेकी छन्। अनुबन्धित भएको केही फिल्ममा काम गर्न बाँकी नै छ।

टिकटकमा राम्रै छाप छोडेकी गरिमाले घनश्याम निर्देशित फिल्म ‘लण्डन टु पेरिस’बाट फिल्ममा डेब्यु गर्ने मौका पाइन्। फिल्ममा काम गर्न पाउँदा निकै उत्साहित उनले त्यसलाई लकको रुपमा समेत परिभाषित गरेकी छन्।

जेठ २५ गतेबाट अल नेपाल प्रदर्शन हुन लागेको फिल्मलाई लिएर उनी निकै आशावादी छिन्। सोमबार हात्तिसारस्थित नेपाल हाउसमा फिल्मको प्रेसमिट राखिएको थियो। १ बजेका लागि बोलाइएको कार्यक्रममा उनी अबेला पुगिन्।

कार पार्किङका लागि समय लागेकाले ढिला भएको बताइन्। उपस्थित साम्राज्ञी आएरएल शाह, निश्चल खड्का, कविर खड्का लगायतसँग पत्रकारले करिब-करिब गफ टुङ्गाइसकेका थिए।

गरिमाको पर्खाइमा रहेका पत्रकारमाझ उनले म्युजिक भिडियो र टिकटक जस्तो सहज फिल्ममा नभएको अनुभव सुनाइन्।

‘म्युजिक भिडियोमा, अरु कसैको आवाजमा आफूले लिपसिङ दिनु र फिल्ममा आफ्नो एक्प्रेसन लङ टर्म देखाउनु, डाइलक डेलिभरि गर्नु, एकदमै गाह्रो कुरा थियो,’ उनले भनिन्, ‘तै पनि टिम राम्रो भएपछि सबै कुरा सहज हुँदो रहेछ।’

फिल्मको सुटिङकै लागि उनी पहिलो पटक बेलायत पुगिन्। यहि फिल्ममा अनुबन्धित भएपछि उनले नीता ढुङ्गानाको निर्माणमा बनेको फिल्म ‘ह्रस्व दीर्घ’, मिलन चाम्सको फिल्म ‘बर एण्ड बधु’ र अर्को फिल्म ‘दौँतरी’मा काम पाइन्।

जेठ १५, २०८१ मंगलबार १३:३०:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।