रमेश लेखकलाई प्रश्न- कांग्रेसले यत्रो रोइलो गरेर पनि चिसै पानीले नुहाएछ है?

रमेश लेखकलाई प्रश्न- कांग्रेसले यत्रो रोइलो गरेर पनि चिसै पानीले नुहाएछ है?

काठमाडौं : नेपाली कांग्रेस संसदीय दलको बैठकले छानबिन समितिको कार्यादेश तय गर्न बसेको बैठकको निष्कर्ष उन्मुख सहमतिलाई अनुमोदन गरेको छ।

संसदीय छानबिन समिति गठनका लागि सोमबार बेलुकी सबै दलहरूबीच भएको बैठक सहमति नजिक पुगेको थियो। 

सोही छलफलमा निष्कर्ष उन्मुख सहमति भएको भन्दै त्यसलाई पार्टीले अनुमोदन गरेको पार्टीको संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बताए।

पार्टीको तर्फबाट कार्यादेश बनाउने कार्यदलमा सहभागी जीवन परियार र ज्ञानेन्द्रबहादुर कार्कीले कार्यदलमा पुगेर पूर्ण सहमति गरेपछि आजै ४ बजे बस्ने प्रतिनिधि सभा बैठकमा त्यसलाई पेश गर्ने उनले बताए।

कार्यादेशसहित सहमतिलाई प्रतिनिधि सभाको बैठकले पारित गरेपछि संसद् सहज ढंगले अघि बढ्ने उनको भनाइ छ। कार्यादेशमा व्यक्तिको नाम तोकेर अघि नबढ्ने सहमति भएको उनले बताए।

उनले भने, ‘सहकारीको रकम जहाँ पुगेको छ, त्यहाँसम्म समिति पुग्छ। सहकारीको रकम लिनेदिने कुरामा जो पनि मानिस जोडिएको छ, त्यसका माथि छानबिन हुनसक्छ।’

त्यसपछि सञ्चारकर्मीले सोधेको ‘कांग्रेसले यत्रो रोइलो गर्दा पनि अन्तिममा चिसै पानीले नुहाइएछ है?’ भन्ने प्रश्नमा उनले भने, ‘विस्तृत कार्यादेश आइसकेपछि र भोलि समिति आइसकेपछि तातोपानीले नुहायो कि चिसोपानीले नुहायो विश्लेषण गर्नुहोला।’

जेठ १५, २०८१ मंगलबार ११:५२:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।