सत्तापक्ष रविलाई जोगाउन लाग्दा कांग्रेस पनि लत्रिएको चित्रबहादुरको आरोप

सत्तापक्ष रविलाई जोगाउन लाग्दा कांग्रेस पनि लत्रिएको चित्रबहादुरको आरोप

काठमाडौँ : जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले सत्तापक्ष उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई जोगाउन लागेको र कांग्रेस लत्रिएर बजेट ल्याउन दिने सहमतिमा पुगेको बताएका छन्।

मङ्गलवार बिहान बसेको विपक्षीको दलको बैठक सकिएपछि उनले कांग्रेसले बजेटमा अवरोध नगर्ने देखिएको बताए। नयाँ बानेश्वरमा कांग्रेसको आव्हानमा विपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा) नेपाल, लोसपा र राष्ट्रिय जनमोर्चाको नेताहरूसहितको बैठक भएको थियो।

बैठकमा सहकारी रकम अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेलाई सत्तापक्षले जोगाउन खोजेको बारेमा छलफल भएको र कांग्रेसले बजेट ल्याउन दिनेजस्तो देखिएको केसीले जानकारी दिए।

कांग्रेसले सहकारी रकम अपचलनमा गृहमन्त्रीको संलग्नताबारे माग गरेको संसदीय छानबिन समितिको कार्यादेशबारे सोमबार बेलुका शीर्ष दलका नेताहरुबीच कम्पनी र सहकारीको नाम राख्ने तर व्यक्तिको नाम नतोक्ने सहमति भएको सार्वजनिक भएको थियो।

सोही सहमति अनुसार कार्यादेश निर्माणका लागि बनेको कार्यदलको बैठक बसेर कार्यादेश टुङ्ग्याएर शीर्ष नेताहरूलाई बुझाउने तयारी भइरहेको छ।

जेठ १५, २०८१ मंगलबार ११:३२:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।