रफाहमा इजरायली हमलापछि साउदी अरब र नर्वेका विदेशमन्त्रीबीच ब्रसेल्स भेटवार्ता

रफाहमा इजरायली हमलापछि साउदी अरब र नर्वेका विदेशमन्त्रीबीच ब्रसेल्स भेटवार्ता

एजेन्सी : रफाहमा इजरायली हमलापछि बेल्जियमको राजधानी ब्रसेल्समा साउदी अरेबिया र नर्वेका विदेशमन्त्रीबीच भेटवार्ता भएको छ।

सो क्रममा दुवै देशका अधिकारीहरूले गाजामा भइरहेको युद्ध तत्काल रोक्न र दुई पक्षबीच सहमति हुन अन्य मुलुकले के–कस्ता व्यावहारिक कदम चाल्न सकिन्छ भन्ने विषयमा छलफल गरेका थिए।

बैठकमा साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फरहान अल साउद र नर्वेका विदेशमन्त्री एस्पेन बार्थ इदका साथै अल्जेरिया, अष्ट्रिया, बेल्जियम, बुल्गेरिया, क्रोएसिया, चेक गणतन्त्र, डेनमार्क, इजिप्ट, फिनल्याण्ड, फ्रान्स, जर्मनीका प्रतिनिधि सहभागी थिए।

ग्रीस, इन्डोनेसिया, आयरल्याण्ड, इटाली, लाटभिया, लिथुआनिया, माल्टा, नेदरल्यान्ड्स, कतार, ओआईसी, टर्की, यूएई र बेलायतका विदेशमन्त्रीहरू पनि छलफलमा सहभागी थिए।

बैठकमा रफाहमा भएको आक्रमण रोक्न र बन्धकहरूको रिहाइलगायत युद्धविराम तत्काल कार्यान्वयन गर्दै गाजामा युद्ध अन्त्य गर्न जोड दिइएको थियो।

दुवै देशले गाजामा उत्पन्न हुने मानवीय सङ्कटप्रति चिन्ता व्यक्त गर्दै वेस्ट बैंकमा गैरकानूनी कार्यहरू रोक्न पनि कुरा गरेका छन्।

आइतबार साँझ, इजरायली सेनाले गाजा पट्टीको दक्षिणी सहर रफाहमा विस्थापित प्यालेस्टिनीहरूको शिविरमा हवाई हमला गरेको थियो। हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले आक्रमणमा ४५ प्यालेस्टाइनीको मृत्यु भएको जनाएको छ।

यो हमलापछि मात्र साउदी अरेबिया र नर्वेका विदेशमन्त्रीबीच भेट भएको थियो। नर्वेले आजबाट प्यालेस्टाइनलाई राष्ट्रको रुपमा मान्यता दिने भएको छ।

बैठकमा अन्तर्राष्ट्रिय कानुनबमोजिम दुई राज्य समाधानको कार्यान्वयनमा बलियो सहयोग गर्ने कुरा पनि भएको थियो। यो समाधानका सर्तमा सबै दल सहमत हुनुपर्ने पनि भनिएको छ।

यस अवधिमा प्यालेस्टाइनलाई राष्ट्रको रूपमा मान्यता दिने निर्णयलाई नर्वे, स्पेन र आयरल्याण्डले पनि स्वागत गरेका थिए।

दुई राष्ट्र सिद्धान्त अन्तर्गत सन् १९६७ को युद्धविराम रेखाभन्दा बाहिरको वेस्ट बैंक, गाजा स्ट्रिप र पूर्वी जेरुसेलममा इजरायलसँग शान्तिपूर्वक बस्नु पर्ने क्षेत्रमा स्वतन्त्र प्यालेस्टाइन राज्य निर्माण गर्नुपर्नेछ।

जेठ १५, २०८१ मंगलबार १०:३६:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।