रफाहमा इजरायली बमबारीपछि बोल्यो इस्लामिक देशहरूको संगठन ओआईसी

रफाहमा इजरायली बमबारीपछि बोल्यो इस्लामिक देशहरूको संगठन ओआईसी

एजेन्सी : इस्लामिक देशहरूको संगठन (ओआईसी)ले राफाहमा इजरायली हवाई आक्रमणको कडा निन्दा गरेको छ।

कम्तीमा ४५ जनाको ज्यान जाने गरी भएको हवाइ आक्रमणलाई ओआईसीले प्यालेस्टिनी नागरिकहरूविरुद्ध इजरायली सेनाले गरेको जघन्य नरसंहारको संज्ञा दिएको छ।

४५ मृतकमध्ये अधिकांश महिला र बालबालिका भएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ।

इस्लामिक सहयोग संगठन (ओआईसी)ले इजरायलको आक्रमणलाई ‘युद्ध अपराध, मानवता विरुद्धको अपराध र राज्यद्वारा प्रायोजित आतंकवाद’भनेर वर्णन गरेको छ।

ओआईसीले यस हमलाका दोषीहरूलाई अन्तर्राष्ट्रिय फौजदारी कानून अन्तर्गत जवाफदेही बनाउनुपर्ने र उनीहरूलाई कारबाही गर्नुपर्ने माग गरेको छ।

ओआईसीले रफाहमा इजरायली सेनाको आक्रमणलाई तुरुन्तै रोक्न अन्तर्राष्ट्रिय न्यायालयको आदेश कार्यान्वयन गर्न आफ्नो जिम्मेवारी पूरा गर्न अन्तर्राष्ट्रिय समुदाय, विशेष गरी संयुक्त राष्ट्र सुरक्षा परिषद्लाई आह्वान समेत गरेको छ।

आइतबार साँझ, इजरायली सेनाले गाजा पट्टीको दक्षिणी सहर रफाहमा विस्थापित प्यालेस्टिनीहरूको शिविरमा हवाई हमला गरेको थियो।

जेठ १५, २०८१ मंगलबार ०९:२५:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।