शैक्षिक ग्रामका रूपमा स्थापित हुँदै देवदह, २० हजार विद्यार्थी पढाउन एक खर्बको परियोजना
बुटवल : लुम्बिनी बौद्ध विश्वविद्यालयलाई नमुना उच्च शिक्षाको केन्द्र बनाउने योजना अघि बढेको छ। त्यसका लागि विश्वविद्यालयले रुपन्देहीको देवदहमा शैक्षिक पूर्वाधार निर्माणको काम सुरु गरेको छ। यो परियोजना करिब एक खर्बको हुनेछ।
देवदहमा रहेको करिब एक सय विगाहा क्षेत्रफलमा विश्वविद्यालयका पूर्वाधारहरू निर्माणका लागि विस्तृत गुरुयोजना निर्माण भएको छ। परियोजनाको अवधारणापत्र प्रधानमन्त्री एवं कुलपति पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा भएको १५औं सभाको बैठकले अनुमोदन गरेको थियो।
विश्वविद्यालयले देवदहमा पूर्वाधार निर्माणको काम सुरु गरेको छ। गुरुयोजना अन्तर्गत पहिलो चरणमा विश्वविद्यालयले ७ करोड १६ लाख २९ हजारको लागतमा २ तले शैक्षिक एवं प्रशासनिक भवन निर्माण गरेको छ।
लुम्बिनी, देवदह र बुटवललाई तीन शैक्षिक केन्द्रका रूपमा विकास गर्ने गरी विश्वविद्यालयले योजना बनाएको छ।
लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिस्ट्रार डा. तिलकराम आचार्यले स्वदेशी र विदेशी गरी २० हजार विद्यार्थीहरूले अध्ययन गर्ने गरी अहिले गुरुयोजना बनाई पूर्वाधार निर्माणको तयारी भइरहेको बताए। पूर्वाधार निर्माणका लागि नेपाल सरकार, विश्वविद्यालय अनुदान आयोग तथा विदेशी दातृ निकायहरूसँग सहकार्य सम्झौता भइरहेको उनले बताए।
‘देवदह शैक्षिक केन्द्रमा १६ हजार विदेशी र चार हजार नेपाली विद्यार्थीले अध्ययन गर्ने गरी संरचना निर्माणको काम सुरू भएको छ। यो सम्पन्न भएपछि देवदह शैक्षिक ग्रामका रूपमा स्थापित हुनेछ’, उनले भने।
साथै उनले देवदहको शैक्षिक केन्द्र अन्तर्राष्ट्रिय आकर्षणको केन्द्र बन्ने समेत बताए।
विश्वविद्यालयको पूर्ण संरचना तयार हुँदा स्थानीयलाई प्रत्यक्ष लाभ हुने उत्पादनमुखी शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्ने तयारीमा विश्वविद्यालयको टिम जुटेको छ। लुम्बिनी बौद्ध विश्वविद्यालयले देवदहमा ९ वटा स्कुलहरूमार्फत शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्नेछ । त्यसका लागि आवश्यक पूर्वाधार विश्वविद्यालयले तयार गर्दैछ।
विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुबर्णलाल बज्राचार्यले बोर्ड अफ ट्रष्टी बनाएर अघि बढिने बताए। ट्रष्टी गठन गर्ने निर्णय १५औं सभाको बैठकले गरेको भन्दै उनले विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने बताए।
‘विदेशी तथा स्वदेशी विद्यार्थीहरूले बौद्ध अध्ययनसँगै जीवनोपयोगी शैक्षिक कार्यक्रममा अध्ययन गर्नेछन्,’ उपकुलपति बज्राचार्यले बताए, ‘विदेशी मुलुकका केही संस्था, विश्वविद्यालयहरू ट्रष्टीको सदस्य हुन तयार छन्, त्यसकारण पनि हामी उत्साहित छौँ।’
देवदहमा तयार भएको प्रारम्भिक गुरुयोजना अनुसार अस्पताल, प्राथमिक तथा आधारभूत विद्यालय, छात्रावास, शिक्षक तथा कर्मचारी आवास केन्द्र, अनुसन्धान केन्द्र, संग्रहालय, गेस्टहाउस भिल्लासहितका संरचना बन्नेछन्। रंगशालासहित पर्यटकीय आकर्षण गर्ने संरचना बौद्ध संस्कृति झल्किने शैलीमा बन्ने गरी डिजाइन गरिएको छ।
हाल विश्वविद्यालयले लुम्बिनी, बुटवल र देवदहबाट शैक्षिक कार्यक्रम सञ्चालन गरेको छ। विश्वविद्यालयमा दुई हजार १ सय १३ जना विद्यार्थी अध्ययन गरिरहेका छन्। विश्वविद्यालयले अहिले विदेशी विश्वविद्यालयसँग सहकार्य गरेर टु प्लस टु कार्यक्रम चलाइरहेको छ।
जसअन्तर्गत अहिले ३२ जना विद्यार्थी चीनको विश्वविद्यालयमा अध्ययन गरिरहेका छन् भने ११ जना चिनियाँ विद्यार्थीले लुम्बिनीमा अध्ययन सकेर फर्किएका छन्। केही समयमै भारतीय विश्वविद्यालयमा अध्ययनका लागि विद्यार्थी पठाउने तयारी रहेको विश्वविद्यालयले जनाएको छ।
विश्वविद्यालयमा चीन, श्रीलंका, बर्माका गरी झन्डै एक सय जना विदेशी विद्यार्थी छन्। यस विश्वविद्यालयबाट ३५ जनाले बौद्ध दर्शनमा पिएचडी (विद्यावारिधि) गरिसकेका छन्। दशवर्ष अघिसम्म सुनसान रहेको विश्वविद्यालय पछिल्लो समयमा तीव्र रूपमा गति लिएको हो।
बौद्ध विश्वविद्यालयमा अहिले तीनवटा संकाय सञ्चालनमा छन्। बौद्ध अध्ययन संकाय, मानविकी तथा सामाजिक शास्त्र संकाय र स्कुल अफ डेभलपमेन्ट एन्ड एप्लाइड साइन्स।
दुई वटा आंगिक क्याम्पस, केन्द्रीय क्याम्पसमा चालू शैक्षिक कार्यक्रममा स्नातकोत्तर तहमा बौद्ध अध्ययन, आर्कियोलोजी र म्युजोलोजी सञ्चालनमा रहेका छन्। त्यस्तै, स्नातक तहमा भोट बौद्ध अध्ययन, ट्राभल एन्ड टुरिजम म्यानेजमेन्ट र बिए आरडीको अध्ययन हुँदै आएको छ।
बौद्ध विश्वविद्यालयको बुटवलमा सिटी क्याम्पस सञ्चालनमा आएको छ। यहाँ बिएएलएलबी र ट्राभल एन्ड टुरिजम शैक्षिक कार्यक्रम सञ्चालनमा आएको छ। त्यस्तै, स्नातकोत्तर तहमा इन्टरनेसनल रिलेसन एन्ड पिस स्टडिजको कक्षासमेत सञ्चालनमा छन्।
बुद्धसँग सम्बन्धित स्थल देवदहमा स्कुल अफ डेभलपमेन्ट एन्ड एप्लाइड साइन्सअन्तर्गत स्नातकोत्तर तहमा डेभलपमेन्ट स्डडिज र एग्रोफोरेस्ट्री कार्यक्रम सञ्चालनमा छ।
बौद्ध विश्वविद्यालयमा बौद्ध अध्ययन संकायअन्तर्गत विद्यावारिधि कार्यक्रम चालू रहेको छ भने शैक्षिक कार्यक्रमबाहेक अनुसन्धान केन्द्रबाट अनुसन्धानका कार्यक्रम भइरहेको छ।
जेठ १५, २०८१ मंगलबार ०७:२७:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।