विश्वकपको पहिलो वार्मअप खेलमा नेपाल ६३ रनले पराजित

विश्वकपको पहिलो वार्मअप खेलमा नेपाल ६३ रनले पराजित

काठमाडौं : आईसीसी पुरुष टी-२० विश्वकपको पहिलो वार्मअप खेलमा नेपाल पराजित भएको छ।

अमेरिकाको डालसमा भएको खेलमा क्यानडाले नेपाललाई ६३ रनले पराजित गर्यो। क्यानडा पहिलो पटक विश्वकप खेल्दैछ।

टस हारेर पहिला ब्याटिङमा तानिएको क्यानडाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १८३ रन बनायाे।

उसका लागि निकोलस किर्तनले ३९ बलमा चार चौका र दुई छक्काको मद्दतमा ५० रनको अर्धशतकीय पारी खेले।

नवदीत दलिवाल ३२, परगत सिंह १३, एरन जनसन १० रनमा आउट हुँदा रविन्दरपाल सिंह नटआउट रहँदै १७ बलमा ४१ रनको विस्फोटक पारी खेले।

डिलोन हेगलाइगरले ७ बलमा १३ रन बनाएर अविजित रहे।

नेपालका अविनाश बोहराले दुई तथा सागर ढकाल, ललित राजवंशी, गुल्सन झा, सोमपाल कामी र करण केसीले समान एक-एक विकेट लिए।

१८५ रनको लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा १२० रनमा समेटियो। नेपालका लागि कुशल मल्लले ३० बलमा बनाएको ३७ रननै सर्वाधिक रह्यो।

अनिल शाह २४, आशिफ शेख २२ र कुशल भुर्तेलले १० रन जोड्नबाहेक अन्य खेलाडीले दाेहोरो अंकमा रन जोड्न सकेनन्।

सन्दीप जोरा ६, सागर ढकाल समान ५-५, सोमपाल कामी ४, कप्तान रोहित पौडले १ रनमा आउट हुँदा गुल्सन झा र अविनाश बोहराले एक रन पनि बनाउन सकेनन्।

करण केसी पाँच रनमा नटआउट रहे।

नेपालले अब दोस्रो वार्मअप खेल बिहीबार राति सवा ९ बजे आयोजक अमेरिकाविरुद्ध सोही खेल मैदानमा खेल्नेछ।

जेठ १५, २०८१ मंगलबार ०६:५४:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।