आज पनि भएन टिओआरमा सहमति, बजेट भाषण के होला ?

आज पनि भएन टिओआरमा सहमति, बजेट भाषण के होला ?

काठमाडौं : सहकारीको बचत अपचलनबारे बनाउने भनिएको संसदीय छानबिन समितिको कार्यादेश (टिओआर ) तयार पार्न गठन गरिएको कार्यदलको बैठक बिनासहमति टुङ्गिएको छ। 

सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकपछि कार्यदलका संयोजक कानुनमन्त्री पदम गिरीले आफूहरू सहमति नजिक पुगेको बताए। 

आफूहरू एक ठाउँमा आइसकेको दाबीसहित उनले सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले दलहरूबीच सहकारीका विषयमा संसदीय छानबिन समिति बन्ने र त्यसको पूर्णता दिन भोलि बिहान ११ बजे कानून मन्त्रालयमा कार्यदलको बैठक बस्ने बताए। 

कार्यादेशमा लामो समयदेखि सहमति जुट्न सकेको छैन। नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेको नाम नै तोकेर छानिबन गर्नुपर्ने अडान गरिरहेको छ। सत्तापक्ष उनको नाम तोक्न तयार छैन।

भोलि बस्ने भनिएको बैठकमा पनि सहमति नभए सरकारलाई बजेट प्रस्तुत गर्न बाधा पर्ने देखिन्छ। 

यसअघि आजै कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा सोमबार भएको पार्टी नेताहरूको बैठकले कार्यादेशमा सहमति नभए संसदमा अवरोध जारी राख्ने निर्णय गरेको छ।

पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले भने, ‘छानबिन समितिको कार्यादेश तय गर्दा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख हुनुपर्ने हाम्रो अडान यथावत् छ। नामै राख्न सत्तापक्ष तयार नहुने स्थितिमा भोलि पनि हाम्रो अवरोध जारी रहन्छ।’ 

जेठ १४, २०८१ सोमबार २२:०४:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।