'आफूले सफा गर्नुपर्ने सहर आफैंले फोहोर गर्दै हिँड्ने बालेनलाई आइडल मान्न सकिँदैन'

'आफूले सफा गर्नुपर्ने सहर आफैंले फोहोर गर्दै हिँड्ने बालेनलाई आइडल मान्न सकिँदैन'

काठमाडौं : एमाले महासचिव शंकर पोखरेलले वर्तमान समाजको आदर्श काठमाडौंको मेयरलाई बनाएर समाज अगाडि नबढ्ने बताएका छन्। 

काठमाडौंमा सोमबार आयोजित अन्तरक्रियामा उनले आफ्नो माग राख्नका लागि सफा राख्नुपर्ने सहर आफैं फोहोर गर्दै हिँडेको भन्दै समाज यस्ताको हातमा दिएर सुशासन र समृद्धिको कुरा सम्भव नभएको बताए। 

उनले भने, ‘हाम्रो समाजको आइकन हामी कसलाई बनाउन खोज्दैछौ भनेर भन्दा काठमाडौंको मेयरलाई, जसले आफ्नो माग राख्नको लागि काठमाडौंका कार्यालयमा लगेर धुलो फ्याँक्छ। हाम्रो आदर्श अब समाज कसरी निर्माण गर्ने भन्दा आफूले सफा राख्नु पर्ने सहरहरू आफैं फोहोर गर्दै हिँड्ने। सिंहदरबारको फोहोर उठ्दैन, कहिले मन्त्री क्वाटरमा लगेर फोहोर राख्न र हाम्रो आदर्श पनि त्यही बन्दैछ। समाज यस्ताको हातमा जाने, अनि हामीले सुशासन र समृद्धिको कुरा गरेर हामीले समाजलाई नेतृत्व गर्न सक्छौ?’

उनले पछिल्लो समय सामाजिक सञ्जालले निर्माण गरेको मुखहरू सुशासन, विकास र सपनाको अवसान गर्ने एउटा बाटो मात्र भएको बताए।  

उनले नेपाली समाजको आजको समस्या हल गर्न राज्यलाई बलियो बनाउनुपर्ने भन्दै बलियो राज्यले मात्र जनताको जीवन समृद्धि बनाउने सक्ने बताए। 

उनले भने, ‘हामीले जनता र राज्यलाई जोड्नु पर्छ। राज्य बलियो भयो भने मात्र जनता सुरक्षित र संरक्षित हुन्छन् र जनताको जीवनमा समृद्धि सम्भव हुन्छ। कमजोर राज्यले जनतालाई कहिले पनि सुख, समृद्धि दिन सक्दैन। त्यसकारण नेपाली समाजको आजको समस्या हल गर्ने हो भने राज्यलाई बलियो बनाउनु पर्छ, त्यसपछि मात्र नागरिकहरू सुरक्षित हुन्छन्। हामीले यसको आधारमा सोच्नु पर्छ।’ 

जेठ १४, २०८१ सोमबार २१:२२:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।