विवादित आरोही पुर्जाले सगरमाथाको डोरी काटिएकोबारे भ्रम फैलाएको पर्यटन विभागको निष्कर्ष, कारबाहीको तयारी

विवादित आरोही पुर्जाले सगरमाथाको डोरी काटिएकोबारे भ्रम फैलाएको पर्यटन विभागको निष्कर्ष, कारबाहीको तयारी

काठमाडौँ : विवादित पर्वतारोही निर्मल पुर्जाले सगरमाथा आरोहणकाक्रममा टाँगिएको डोरी काटिएको भनेर अफवाह फैलाएको भन्दै पर्यटन विभागले उनीमाथि छानबिन गर्ने भएको छ। उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा भिडियो राखेर सन् २०२४ को वसन्त ऋतुमा सगरमाथा आरोहणका क्रममा टाँगिएको डोरीको बाल्कोनी र साउथ समिट बिचको भाग काटिएको र आरोहणमा समस्या भएको दाबी गरेका थिए।

विभागले प्रारम्भिक छानबिनमा उनको दाबी असत्य देखिएको र पुर्जाले पर्वतीय पर्यटनलाई बदनाम गराउने प्रयास गरेको भन्दै अनधिकृत सूचना सम्प्रेषण गर्ने कार्यमा संलग्न पुर्जा र अन्य व्यक्तिहरू उपर छानबिनको प्रक्रिया अघि बढाइएको जानकारी दिएको छ।

विभागले सोमबार सार्वजनिक गरेको विज्ञप्तिमा रेडियो सेटमा पिक प्रमोसन प्रालिका बाबु शेर्पासँग कुरा गर्दै पिक प्रमोसनका शव व्यवस्थापन टोली डोरी नभएको कारणले फर्किनु परेको भन्ने आरोप गलत भएको उल्लेख छ।

पुर्जाले लगाएको आरोपपछि पनि पायोनियर एडभेन्चर प्रालिको टोलीले सोमबार बिहान १२:४५ मा सगरमाथाको सफल आरोहण गरेको र पुर्जाले भने जस्तो उक्त स्थानमा आरोहणको लागि यस सिजनमा टाँगिएको डोरी नकाटिएको र सहज रूपमा आरोहण सम्पन्न भएको जानकारी प्राप्त भएको विभागले जानकारी दिएको छ।

पुर्जाको दाबी सम्बन्धमा पर्वतारोहण सञ्चालक सङ्घ नेपालको आकस्मिक बैठक बसेको र टाँगिएको डोरीमा कुनै समस्या नभएको तथा पुर्जाको गतिविधिले नेपालको पर्वतीय पर्यटनलाई बदनाम गराएको विषयमा गम्भीर ध्यानाकर्षण भएको विभागले जानकारी गराएको छ।

यस सिजनमा सगरमाथा आरोहणको सबै अभियान अन्तिम चरणमा पुगेको र आरोहण मार्गमा टाँगिएको डोरीको कहीँ कतै पनि समस्या नरहेको भन्दै आरोहण गर्न बाँकी रहेका आरोहीहरूलाई ढुक्कसँग सगरमाथा आरोहण अभियानमा लाग्न अनुरोध समेत गरेको छ।

पुर्जा यस अगाडि पनि नेपालमा पटक पटक विवादमा आइसकेका छन्। कपनमा रहेको उनको कम्पनीको कार्यालयमा भएको विस्फोटमा कामदारको ज्यान गएको र घरधनीले हालसम्म क्षतिपूर्ति नपाएको विषय अदालतमा पुगेको थियो।

नेपालको कानुनमा दोहोरो नागरिकता प्रतिबन्धित भए पनि उनले बेलायतको नागरिकता लिएर पनि नेपालको नागरिकता कायम राखेकोबारे उकेरा डटकमले समाचार प्रकाशित गरेपछि बल्ल नेपाली नागरिकता त्यागेका थिए।

सम्बन्धित समाचार:-

जेठ १४, २०८१ सोमबार १८:४०:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।