चोरी गर्न आएका तीन व्यक्तिले गरे अमेरिकी अभिनेता जोनीको हत्या

चोरी गर्न आएका तीन व्यक्तिले गरे अमेरिकी अभिनेता जोनीको हत्या

एजेन्सी : अमेरिकी अभिनेता जोनी वाक्टरको लसएन्जल्समा गोली हानी हत्या गरिएको छ। अभिनेता वाक्टरको कारको एक भाग चोर्ने प्रयासमा रहेका व्यक्तिले उनको हत्या गरेका हुन्।

वाक्टरको कार पार्क गरिरहेको स्थानमा रहेको क्यालिटीक कन्भर्टर हटाउन प्रयासरत रहेका तीन व्यक्तिले ३७ वर्षे अभिनेतालाई आक्रमण गरेका थिए। आक्रमणबाट जोनी गम्भीर घाइते भएका थिए। क्यालिटीक कन्भर्टर महंगो मूल्यमा बिक्री हुने फलामको साधन हो।

अमेरिकी सप ओपेरा ‘जेनेरल हस्पिटल’बाट लोकप्रियता कमाएका अभिनेताको शनिबार बिहान निधन भएको थियो। उनका एजेन्ट डेभिड साउलले जोनी एक ‘उत्कृष्ट मानव’ भएको बताएका छन्।

जोनीकी आमा स्कार्लेटले आफ्नो छोरा कामबाट फर्किएर कारतर्फ आइरहँदा यो घटना भएको बताइन्।

‘ऊ आफ्नो कारतर्फ अगाडि बढिरहेको थियो। उसको कार छिमेकीको घरको अगाडि थियो। उसले कारलाई ढल्किरहेको देखेपछि उसले त्यो व्यक्तिलाई ‘तिमी मेरो कार उठाइरहेका छौ?’ भनेर सोधेपछि त्यो व्यक्तिले गोली हान्यो’, आमाले भनेकी छन्। 

स्कार्लेटले छोरालाई गोली हानेपछि गोली हान्ने व्यक्तिसहित दुई व्यक्ति भागेको बताएकी छन्। उनले छोराको हत्या गर्नु ‘मूर्खतापूर्ण’ काम भनेकी छन्।

यो घटना लसएन्जल्सस्थित वेस्क पिको बुलेभार्ड र साउथ होप स्ट्रिटको कुनामा भएको थियो। घटनापछि फरार अभियुक्त पक्राउ परेका छैनन्।

‘जनरल हस्पिटल’का निर्माताहरूले साउथ क्यारोलिनामा जन्मिएका वाक्टरलाई ‘हरेक दिन काम गर्न पाउँदा खुशी हुने व्यक्ति’का रुपमा चित्रण गरेका छन्।

वाक्टरले ‘जनरल हस्पिटल’मा दुई वर्ष काम गरेका थिए। उनले २०१३ एनबीसी सिरिज ‘साइबेरिया’ र एचबीओको ‘वेस्टवल्र्ड’मा दुई एपिसोडमा पनि काम गरेका थिए। 

जेठ १४, २०८१ सोमबार १८:३५:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।