प्रधानमन्त्री निवासको कपडा धुने चन्द्रदेवीको अनुभव : पहिलाकाले भेटेरै सुख-दु:ख सोध्थे, अहिलेकाले त तल जान पनि दिँदैनन्

प्रधानमन्त्री निवासको कपडा धुने चन्द्रदेवीको अनुभव : पहिलाकाले भेटेरै सुख-दु:ख सोध्थे, अहिलेकाले त तल जान पनि दिँदैनन्

ढल्किँदै गरेको उमेरलाई चुनौती दिँदै सक्रिय हुने प्रयास गर्छिन्, ६८ वर्षीय चन्द्रदेवी मघिया। भारी काम गर्न नसके पनि उनी घरका सम्पूर्ण काममा सक्रिय भइरहन्छिन्। अनि बाँकी समय आफ्नो जिन्दगीको अतीत कल्पेर रमाउछिन्। त्यसबेला कति खेर आँसु खस्छ, उनी पत्तै पाउँदिनन्। 

धोबी परिवारमा जेठी छोरीको रुपमा जन्मिएकी उनले स्वभावैले घरमा आमाबाबु पछिको जिम्मेवारी लिनुपर्यो। उनलाई थाहा भएसम्म आफूले कपडा धुनेबाहेक अन्य काम गर्नुपरेको छैन। स्वयम्भूको ढुंगेधाराहरूमा चोबलेर कपडा धोएको र डाँडा भरिने गरि त्यो कपडा सुकाएको उनले बिर्सिएकी छैनन्। 

'अहिले त म केही पनि गर्दिनँ। अलिअलि घरकै तानतान-तुनतुन काम गरेर समय बित्छ,' उनले हाँस्दै सुनाइन्, 'त्यसबाहेक घरमै सानो पसल छ, त्यहीँ दिनभर बस्ने हो। एक समय पानीमा दिनभर डुबेर कपडा धोइयो। अहिले शरीरमा पानी धेरै पार्न नहुने भयो, के गर्ने!' 

चन्द्रदेवीको बाल्यकाललाई फर्केर हेर्दा उनका बाले कपडा धुने पसल राखेका थिए। बालाई आमाले सघाउँथिन्। अनि आमालाई चै चन्द्रदेवीले। त्यै भएर उनले पढ्न पनि पाइनन्। 

'मेरो हजुरबाले अलिअलि पढाउनु भएको त हो, सिलौटोमा। स्कुल गएर चैँ पढ्न पाइन। त्यै भएर पछि मेरो बच्चाहरुलाई म जसरी पनि स्कुलमै पढाउछु भन्ने थियो। सबैलाई अलिअलि पढाइयो पनि,’ यसो भनिरहँदा उनको अनुहारमा अलग्गै चमक देखियो। 

उनको बाल्यकाल बित्दै गयो। जति नै काममा सघाए पनि हुर्किँदै गरेकी छोरीलाई बिहे गराइहाल्ने उनका आमाबाले निर्णय गरे। अनि क्षत्रपाटीको धोबी परिवारको सदस्यसँग उनको बिहे गराइदिए।

उनको माइतीपक्ष र घरपक्ष दुवैको पुस्तौं देखिको कामै- कपडा धुने। माइतीघर छोडेर यहाँ आएपछि पनि उनले खुब कपडा धोइन। उनका श्रीमान एक्लो छोरा, घरको जिम्मेवारी उनकै काँधमा भएकाले पनि बिहे गरेर आएकी चन्द्रदेवीको श्रीमानलाई सघाउने नै मुख्य जिम्मेवारी भयो।

फारसखानादेखि प्रधानमन्त्री निवाससम्म
त्यसबखत चन्द्रदेवीको घरपक्षले हनुमानढोकामा रहेको फारसखानामा रहेर सम्पूर्ण कपडा धुने जिम्मा पाएका रहेछन्। अलि पछि फारसखाना हापेर उनीहरू प्रधानमन्त्री निवासको धोबी बन्न पुगे। त्यसबेलादेखि अहिलेसम्म पनि प्रधानमन्त्री निवासबाट उनको घरमा कपडा आइरहन्छ। 

‘ठ्याक्कै कहिलेदेखि हो भनेर त मलाई याद भएन। याद भएसम्म चैं लोकेन्द्रबहादुर चन्द पहिलोपटक प्रधानमन्त्री हुँदादेखि हो कि,’ उनले सम्झिँदै भनिन, ‘त्यसपछि त हरेक प्रधानमन्त्रीको पालामा काम गरियो नि। अहिलेसम्म पनि छ। अहिले त्यहाँको बाहेक हाम्रो खासै काम पनि छैन।’

उनका श्रीमानले पछि बालुवाटारमै पनि धोबी पसल राखेका रहेछन्। अनि त काम भ्याईनभ्याई हुन थालेछ। ढुंगेधारा रहेसम्म र त्यहाँबाट पानी आएसम्म सबै कपडा त्यसैमा धुने गरेको उनले बताइन्। रातभर भिजाएर राखेको कपडा बिहान ५ बजे नै धारामा पुगेर पिटेर, पखालेर बस्दा  खाना खाने बेलामा मात्र माथि उक्लिने गर्थिन्, चन्द्रदेवी। 

कपडा धुने काममा आफू निकै व्यस्त हुने गरेको उनले सुनाइन। घर आएर पनि खाना बनाएर, घरका सबैलाई खुवाएर फेरि कपडा सुकाउनतिर लाग्थिन्। अनि कपडा आइरन गर्ने, पकाउने देखि फेरि अर्को लटको कपडासमेत भ्याउने गर्थिन् उनी। दिनमा ४० वटा जति त ठूला-ठूला तन्ना मात्रै धुने गरेको उनलाई अहिले पनि याद छ। चन्द्रदेवीलाई खुसी लाग्ने कुरा भनेको चैं उनको पुरै परिवार यही काममा रम्यो। 

प्रधानमन्त्री निवासबाट पर्दा, तन्ना, सोफाको खोल लगायतका कपडा आउँथ्यो। अनि कहिलेकहीँ व्यक्तिगत कपडा पनि। त्यस्तै कुनै प्रधानमन्त्रीको पालामा त प्रधानमन्त्रीको परिवारसमेत कपडा आउने गर्थ्यो/गर्छ। एउटा कपडाको एक रुपैयाँ गरेर महिनाको सय रुपैयाँ तलब आउँथ्यो। कपडा भने हरेक हप्तामा एकपटक आउँथ्यो। लामो समयपछि त्यो बढेर दुईसयसम्म पुगेको रहेछ। अहिले भने ५/६ हजार सम्म आउने गर्छ रे! 

‘कपडाहरू निकालेर राखिदिएका हुन्थे, हामी नै त्यहाँ गएर ल्याउनुपर्थ्यो। अनि पुर्याउन पनि हामी आफै जाने हो। अहिले त हाम्रो घरमै पुर्याइदिन्छन्,’ उनले सुनाउँदै गइन्, ‘पहिला कपडा पुर्याएर माथिसम्म गएर प्रधानमन्त्रीसँग बोलेर पनि आउन पाइन्थ्यो। अहिले त प्रधानमन्त्रीलाई भेट्न पनि गाह्रो छ। अब त म जान छोडिसके, छोराहरूले भन्थे- अहिले त तल पनि जान दिँदैनन् रे।'

'सबै प्रधानमन्त्रीले व्यक्तिगत कपडा धोएको अलग्गै खर्च दिएनन्'
'परिवारको र प्रधानमन्त्री स्वयंको व्यक्तिगत कपडा धोए बापत कोहिबाट छुट्टै बक्सिस पाउँथे, कुनैबाट भने पाइदैनथ्यो। ,' उनले सुनाइन।

कीर्तिनिधि बिष्ट र सूर्यबहादुर थापा प्रधानमन्त्रीहुँदा बाहेक सबै प्रधानमन्त्रीको पालोमा काम गरेकी उनलाई प्रधानमन्त्रीमध्ये गिरिजाप्रसाद कोइराला मन पर्छ रे। कारण, जस्तो व्यस्त हुँदा पनि उनी हाँसेर बोलिदिन्थे। दशैँ बाहेक अन्य चाडबाडमा धेरथोर बक्सिस पनि दिन्थे। अहिलेकाले त निवास तल पनि जान दिँदैनन्।

‘दशैँको समयमा त अहिले पनि आउँछ बक्सिस। तर, उहाँले चै अन्य चाडबाडमा पनि हामी कर्मचारीहरूलाई खर्च दिनुहुन्थ्यो,’ उनले भन्दै गइन्, ‘खर्च दिए भनेर मात्र राम्रो भनेको होइन। खाना खाइरहेको छ भने पनि उहाँ हामीसँग बोल्नु हुन्थ्यो। एउटा बोलि त हो नि। अनि कहिलेकहीँ अफिसबाहेक आफ्नो व्यक्तिगत कोट लगायतको लुगा धुनलाई दिनुभएको छ भने पनि छुट्टै पैसा दिनुहुन्थ्यो। अरूले त परिवारकै राखे पनि दिँदैन नि। तर केही सचिवले त्यसबाट पनि आधा मात्र हामीलाई दिन्थे।’

उनका श्रीमान बिरामी हुँदा गिरिजाप्रसादलेसमेत उनको स्वास्थ्यको बारेमा चासो देखाएका रहेछन्। त्यै भएर पनि गिरिजाप्रसादसँग उनको विशेष आत्मीयता रहेछ। 

' बा(श्रीमान) लाई कस्तो छ भनेर सोध्नुहुन्थ्यो। के गर्नु घरमा बस्दाबस्दै उहाँलाई टाउको दुख्ने रोग भइदियो। बेलुका खाना खाएर सुतेको मान्छे बिहान त खुट्टा उचाल्नसमेत नसक्ने भयो नि। यसो देखाएर पूजा गरेँ। पछि अकुपञ्चर पनि गरेको हो। अहिले उहाँ साथमा नभएको पनि दश वर्ष जति भइसक्यो,’ उनी भावुक भइन्। 

श्रीमान नरहे पनि उनले कामलाई भने निरन्तरता दिइराखिन्। अहिले उनका छोरा र छोरीहरूले समेत यस कामलाई निरन्तरता दिइरहेकी छन्। 

प्रधानमन्त्री कार्यालय बाहेक उनीहरुले मारवाडी सेवा समितिको पनि लामो समय काम गरे। ४०/५० वर्ष काम गर्दा पनि त्यहाँ भने चित्त बुझाउन नसकेको उनले बताइन्। त्यै भएर अहिले उनीहरूले  त्यहाँको कामबाट हात झिकिसके। 

कपडा धोएर बितेको जिन्दगी !
चन्द्रदेवीले आफ्नो पाँचजना सन्तान यही काम गरेर हुर्काइन्, पढाइन्। 

'आफू सानो हुँदा पनि यही काम गरेर हुर्किएँ। अनि आफ्नो बच्चाहरूलाई समेत यही काम गरेर हुर्काए,’ उनले सुनाइन्, 'ढुंगेधाराको चिसोपानीमा सुत्केरी हुँदा पनि चलाएकै हो। दिनभर धारामा बस्दा, धाराको पानीमा खेल्दा त पेट नै ढाडिन्थ्यो नि। त्यही लामो समयसम्म पानीमा डुबेर काम गरेको भएर हो कि अहिले त खुट्टाहरू बेस्सरी दुख्न थालेको छ।’

उनी यो कपडा धुने कामबाट अलि टाढा भएको ठ्याक्कै १२ वर्ष भयो। नत्र भने उनको पुरै जिन्दगी नै कपडा धोएर बित्यो। धारा र पानीको समस्या भएसँगै उनको परिवारका सबैजसोले मेसिन ल्याएर कामलाई निरन्तरता दिने योजना बनाएका रहेछन्। तर पछि त्यो योजना पुरा हुन सकेन। अहिले पनि उनको घरमा सबैले हातैले कपडा धुने गर्छन्। आइरन भने गोल हाल्न नपर्ने खालको राखेका छन्। 

त्यसबेला कपडा धोएको कारण प्वाल परेका उनका हातहरू अझै निको भइसकेको छैनन्। अहिले पहिलाको जस्तो शरीर चलाउन नपरेर झन् बढी समस्या भएको उनले महसुस गरेकी रहेछिन्। कपडा धुने बाहेक अन्य काम नगरेकी उनलाई कपडा धुने कामबाट टाढा बसेपछि न्यास्रो समेत लाग्ने गर्छ रे!

‘रन्जना हल नजिकै पनि हाम्रो पसल थियो। दिनभर टोलको मान्छेहरूसँग गफ गर्दै काम गर्दा त समय गएको पत्तो नै हुँदैन थ्यो नि। अहिले त गफ गर्ने मान्छेहरू पनि छुट्टिएर गइगए,’ उनी भन्छिन्, ‘अहिले सुख भए पनि खुसी हुन चै सकेको छैन। कहिले त दिक्क लाग्छ नि। के गर्नु! ज्यानले साथ दिएको भए ममा अझै काम गर्ने आँट त छ। मनमा अनेक कुरा खेल्यो भने माइती जान्छु, देवालीहरूमा सहभागी हुन्छु।’

उनको अब केही गर्ने योजना छैन। आफ्नो जीवनको अन्तिम समय ओछयानमै सीमित नहोस् भन्ने मात्र चाहन्छिन्, उनि। 

उनी भन्छिन्, 'जिन्दगी भनेको चलिरहने रहेछ। बाँचुन्जेल एउटा बोलि त रहेछ। धेरै मान्छेको चित्त दुखाउन नपरोस्। परेको व्यवहार जसरी पनि गरिने नै रहेछ। अब यत्ति हो, धेरै सक्रिय नभए पनि ओछयानमै थला परेर चै बस्न नपरोस्।’

जेठ १४, २०८१ सोमबार १७:४४:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।