४ दिनदेखि रिले अनशनमा सहकारी पीडित, देशभर आन्दोलन चर्काउने चेतावनी

४ दिनदेखि रिले अनशनमा सहकारी पीडित, देशभर आन्दोलन चर्काउने चेतावनी

काठमाडौं : सरकारले सहमति कार्यान्वयन नगरेको भन्दै सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले तेस्रो चरणको आन्दोलनको चौंथो दिन पनि रिले अनशन जारी राखेको छ। 

गत शक्रबारदेखि काठमाडौंस्थित माइतीघर मण्डलबाट सुरू भएको आन्दोलन सोमबार चौथो दिन पनि जारी छ। आफूले जम्मा गरेको रकम फिर्ता नपाएको भन्दै सहकारी पीडितहरूले रिले अनशन जारी राखेका हुन्। 

सरकारले सम्झौता सहमति कार्यान्वयन नगरेको भन्दै महासंघले तेस्रो चरणको आन्दोलन घोषणा गरेसँगै काठमाडौं उपत्यकासहित चितवनमा पनि आन्दोलन सुरू भएको हो। 

आन्दोलनमा विशेषगरी तीनवटा सहकारीबाट पीडित रामप्रसाद राजभण्डारीले सरकारले सम्झौता गर्ने तर कार्यान्वयन नगरेर पीडितहरुमाथि अन्याय गरेको बताए। आन्दोलन गरेको चार महिना भइसक्दा पनि सरकारले बेवास्ता गरेका कारण तेस्रो चरणको आन्दोलन गर्न आफूहरू  बाध्य भएको उनको भनाइ छ। 
 
उनले भने, ‘आन्दोलन त गर्नैपर्ने भयो। मानिसहरुले खानै नपाउने अवस्था सृजना भयो। सहकारीमा दुई पैसा ब्याज बढी आउँछ भनेर पैसा राखियो। तीनवटा सहकारीमा मेरो पैसा छ। सिभिल सहकारी, लाली गुराँस र स्टा सेभिङमा थियो  तीनवटामा नै मेरो पैसा डुब्यो। सरकारले न्याय दिएन। सुन्नुपर्ने त सरकारले हो नि। आन्दोलनमा आएको पनि करिब चार महिना भइसक्यो। तर हाम्रो मागलाई सरकारले वास्ता गरेन त्यसैले आन्दोलनमा आउन बाध्य छौं।’

सहकारी पीडितहरूको माग पूरा नभएसम्म अब देशैभर सशक्त रूपमा आन्दोलन अगाडि बढाउने चेतावनी दिएका छन।

जेठ १४, २०८१ सोमबार १५:०६:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।