गिरीबन्धुमा ‌ओली जोडेकोमा कांग्रेसलाई विष्णु पौडेलको चेतावनी- ‘...नत्र एमालेले यसलाई सिरियसली लिन्छ’

गिरीबन्धुमा ‌ओली जोडेकोमा कांग्रेसलाई विष्णु पौडेलको चेतावनी- ‘...नत्र एमालेले यसलाई सिरियसली लिन्छ’

काठमाडौँ : सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग राख्दै सदन र सडक दुबैतिर आन्दोलित नेपाली कांग्रेसका नेताहरूले एमाले अध्यक्ष केपी शर्मा ओलीको नाम गिरिबन्धु टि स्टेटको जग्गा बदनीयतपूर्ण रूपमा सट्टापट्टा गराउने प्रकरणमा जोडेपछि एमाले रिसाएको छ।

कांग्रेसका नेता तथा सांसदहरूले पछिल्लो समय सहकारी प्रकरणमा जोडिएका गृहमन्त्री रवि लामिछानेको भूमिकामाथि छानबिन गर्नुपर्ने मागसँगै गिरिबन्धु टि स्टेटको जग्गा भू माफियालाई जिम्मा लगाउन देखिएको नीतिगत भ्रष्टाचारमा एमाले अध्यक्ष केपी ‌ओलीलाई जोड्दै आएको छ।

ओलीको प्रधानमन्त्रीत्वकालमा कानुन संशोधन गरेर गिरिबन्धुको जग्गा सट्टापट्टा गर्न सक्ने कानुनी बाटो खुलाएको थियो। सर्वोच्च अदालतले त्यसलाई कानुन सम्मत नभएको भन्दै बदर गरिदिएपछि यसबारे छानबिनको माग उठिरहेको छ।

नीतिगत भ्रष्टाचारमा संलग्नहरूमाथि छानबिनको माग गर्नेक्रममा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा लगायतकाले सहकारी ठगी र गिरीबन्धुमा भ्रष्टाचार गरेकाहरू मिलेको भन्दै सार्वजनिक मञ्चहरूबाट निरन्तर छानबिनको माग गर्दै आएकोमा एमाले नेता विष्णु पौडेलले त्यसलाई सोमबार ‘असान्दर्भिक र आधारहीन आरोप लगाएर राष्ट्रिय राजनीति बिथोल्न खोजेको’ आरोप लगाएर कांग्रेससँग लिखित र सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग राखेका थिए।

‘विशेष गरी हाम्रो श्रद्धेय अध्यक्षविरुद्ध आधारहीन आरोपहरू लगाएको, अराजनीतिक र प्रतिशोधपूर्ण लाञ्छना लगाएको छ, यस्ता अभिव्यक्तिबाट कांग्रेसपछि नहटे एमाले चुप लागेन बस्दैन’ उनले भने।

कांग्रेसका नेताहरूले गिरीबन्धुको जग्गा सट्टापट्टामा आफ्नो नाम जोडेकोमा रिसाएका एमाले अध्यक्ष केपी ओली सोमबार बसेको सहकारी छानबिन समितिको कार्यादेश टुङ्ग्याउने बैठकमा समेत आएनन्।

उनी त आएनन् नै, बैठकमा सहभागी भएका एमाले नेता विष्णु पौडेल कांग्रेसका नेताहरूसँग बसेर समितिको कार्यादेशबारे संयुक्त छलफलमा सहभागी भएनन्।

उनी छलफलमा समेत सँगै बस्न नमानेपछि बजेट अगाडि संसद्को गतिरोध खोल्न प्रयासरत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तापक्ष र प्रतिपक्षसँग एक्लाएक्लै छलफल गरेका थिए।

तै पनि छलफल टुङ्गोमा नपुगेपछि पुन तीन बजे बस्ने गरी बैठक सकियो। दलहरू अहिले आ-आफ्नो आन्तरिक छलफलमा छन्।

जेठ १४, २०८१ सोमबार १३:४४:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।