काठमाडौं न्यूरोड क्षेत्रको सडक साँघुरो बनाउन लागिएको स्थानीयको विरोध

काठमाडौं न्यूरोड क्षेत्रको सडक साँघुरो बनाउन लागिएको स्थानीयको विरोध

काठमाडौं : न्यूरोड क्षेत्रको सडक साँघुरो गरेर फुटपाथ बढाउने काठमाडौं महानगरपालिकाको निर्णयविरुद्ध स्थानीय बासिन्दा आन्दोलित भएका छन्।

सोमबार महानगरपालिकाको सडक साँघुरो बनाउने काम राम्रो नभएको भन्दै न्यूरोडबासीले आन्दोलन गरेका हुन्।

उनीहरूले न्यूरोड गेटबाट भित्रतर्फ ‘न्यूरोड साँघुरो गर्न मिल्दैन्, नयाँ सडक बचाउँ’ भन्दै कालो ब्यानरहसित महानगरविरुद्ध प्रदर्शन गरे।

आन्दोलनमा सहभागी स्थानीय सुवोदमान श्रेष्ठले काठमाडौं महानगरका मेयर बालेन्द्र शाह(बालेन)को यो कदम ठिक नभएको बताए।

उनले साथ दिनुपर्ने ठाउँमा दिने हो तर स्थानीयहरूको इच्छा र भावना विपरीतको कार्यमा महानगर अघि बढेकाले विरोध गरेको जानकारी दिए।

उनले भने, ‘सडक साँघुरो बनाउने हो भने त्यसको परिणाम कस्तो हुन्छ भनेर हामीले देखाउन खोजेका हौँ। मापदण्ड अनुसार हेर्दा पनि न्यूरोडको बाटो भनेको गाडी गुड्ने बाटो हो। यो काठमाडौंको मात्र होइन। नेपालको नै सबैभन्दा पहिले गाडी गुड्ने बाटो हो। नेपालको इतिहास मेटाएर, गाडि नै नचल्ने हो भने हामीले विरोध गर्नैपर्छ। साथ दिनुपर्ने कुरामा साथ दिन्छौँ। तर स्थानीयहरूको इच्छा विपरीतको कार्यमा विरोध गर्नैपर्छ।’

यस्तै, स्थानीय मंगलादेवी महर्जनले पनि महानगरपालिकाको प्रमुख भएपछि सबैको राय सुझावमा काम गर्नुपर्ने भन्दै एकलौटीपूर्ण कदम अन्याय भएको बताइन्।

उनले भनिन्, ‘बालेनलाई नराम्रो भन्ने होइन। मेयर भएका नाताले राम्रो काम पनि गर्नुभएको छ। देश बनाउनुपर्छ भनेर हामी पनि लागि रहेका छौँ। तर यो न्यूरोडको सडक यसै सानो छ यसलाई सानो बनाएर के गर्न खोजेको हो? प्रमुख भएपछि सबैको राय सुझावमा काम गर्नुपर्नेमा एकलौटी गर्न पाइन्छ?’

महानगरले न्यूरोडको जुद्ध शालिकदेखि इन्द्रचोकसम्मको सडक क्षेत्रको दुवैतर्फ काटेर फुटपाथ बढाउन लागिएको छ। तीन लेनको उक्त सडक बिनाप्राविधिक जाँच काटिएपछि सडक डिभिजन कार्यालय काठमाडौंले डोजरसहितका मेसिन जफत गरिएको थियो।

जेठ १४, २०८१ सोमबार १३:१३:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।