बजेट प्रस्तुत गर्ने सहमति जुटाउन सत्ता र विपक्षीको बैठक बालुवाटारमा जारी
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालको सरकारी निवास बालुवाटारमा शीर्ष राजनीतिक दल र कार्यदलको बैठक जारी छ।
प्रधानमन्त्री दाहालले संसदको गतिरोध अन्त्य गरी मंगलबार सहज वातावरणमा बजेट प्रस्तुत गर्ने सहमति जुटाउने प्रयासमा बैठक बोलाएर प्रतिपक्ष दलका नेताहरूसँगै कार्यदलका सदस्यहरूसँग एकसाथ छलफल गरिरहेका छन्।
बैठक बालुवाटारमा जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
छलफलमा कांग्रेसका उप सभापति पूर्णबहादुर खड्का, कृष्ण सिटौला, महामन्त्री गगन थापा, प्रमुख सचेतक रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की, सहमहामन्त्री जीवन परियारलगायतका नेता सहभागी छन्।
यस्तै, एमालेका उपाध्यक्ष विष्णु पौडेल, कार्यदल संयोजकसमेत रहेका कानुन मन्त्री पदम गिरी र प्रमुख सचेतक महेश बर्तौला सहभागी हुँदा माओवादीबाट अर्थमन्त्री वर्षमान पुन, सचेतक हितराज पाण्डे, रास्वपाबाट सभापति रवि लामिछाने, स्वर्णीम वाग्ले र सन्तोष परियारलगायत सहभागी छन्।
बजेट भाषण भोलि दिउँसो १ बजे संघीय संसद् भवनमा हुनेछ।
जेठ १४, २०८१ सोमबार ११:५९:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।