सिरोहियाको बचाउमा बोलेकामा महजोडीले माफी माग्दै भने- ‘हामीबाट त्रुटी भयो’

सिरोहियाको बचाउमा बोलेकामा महजोडीले माफी माग्दै भने- ‘हामीबाट त्रुटी भयो’

काठमाडौं : हास्यकलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले कान्तिपुर मिडियाका अध्यक्ष कैलाश सिरोहियाको बचाउमा बोलेकोप्रति क्षमायाचना गरेका छन्।

कार्यक्रमका लागि अष्ट्रेलिया पुगेका उनीहरूले त्यहीँबाट भिडियाे सन्देश जारी गर्दै दर्शकसँग माफी मागेका हुन्।

भिडियो सन्देशमा मदनकृष्णले भनेका छन्, ‘अदालतमा विचाराधीन विषयमा पत्रकार साथीहरू बसेर कुराकानी गरिरहनु भएको रहेछ। एउटा मुडमा बसिरहेको बेला अपर्झट टीभीमा बोल्ने प्रस्ताव आयो। हामी अक्मकियौं के बोल्ने कसो बोल्ने भनेर। अपर्झट बोल्दा केही त्रुटि हुन गएको महसुस भएको छ।’

अदालतमा विचाराधीन विषयमा आफूहरूले नबोलेको भए पनि हुनेमा बाेलेर गल्ती गरेको उनीहरूको भनाइ छ।

हरिवंशले थपेका छन्, ‘अदालतमा विचाराधीन मुद्दाको विषयमा नबोलेको भए हुन्थ्यो। हामीबाट त्रुटी भयो। आफ्नै मान्छे सम्झिएर माया गरिदिनुभएको छ । सबै कुरा बिर्सिएर माफी दिन अनुरोध गर्छौँ।’

सिरोहिया पक्राउ परेपछि कान्तिपुर टीभीले महजोडीसँग प्रतिक्रिया लिएको थियो। त्यसमा उनीहरूले लोकतन्त्रको लागि कान्तिपुर र सिरोहियाले लडेको भन्दै उनको निर्दोषिताको वकालत गरेका थिए।

उनीहरूको अभिव्यक्ति निकै विवादमा परिरहेको छ। प्रहरीले अनुसन्धान गरिरहेको विषयमा आरोपीको बचाउ गरेको भन्दै दुवैको आलोचना भएको छ।

महजोडीको अभिव्यक्ति विवाददित भएपछि उनीहरूको अष्ट्रेलियाको कार्यक्रम पनि प्रभावित भएको थियो। उनीहरूको शोमा आउन टिकट काटेका धेरैले धमाधम टिकट रद्द गरिरहेका छन्।

जेठ १४, २०८१ सोमबार ११:०३:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।