कोलकातालाई तेस्रो पटक आईपीएलको उपाधि, तोडियो १० वर्षको खडेरी

कोलकातालाई तेस्रो पटक आईपीएलको उपाधि, तोडियो १० वर्षको खडेरी

काठमाडौं : कोलकाता नाइट राइडर्सले तेस्रो पटक इन्डियन प्रिमियर लिगको उपाधि जितेको छ।

चेन्नईको एमए चिदम्बरम स्टेडियममा भएको फाइनलमा कोलकाताले सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित गरेको हो। यसअघि कोलकाताले सन् २०१२ र २०१४ मा यो प्रतियोगिता जितेको थियो।

टस जितेर पहिले ब्याटिङ गर्ने हैदरावादको निर्णय गलत सावित भयो। प्रतियोगिताभर ठूलो रन बनाएको हैदरावादको टोली आईपीएल फाइनलको इतिहासमा सबैभन्दा कम स्कोरमा सीमित भयो। पूरै टोली १८.३ ओभरमा ११३ रनमा समेटियो।

जवाफमा कोलकाता नाइट राइडर्सले १०.३ ओभरमा मात्रै जित्यो। खेलको प्लेयर अफ द म्याच मिचेल स्टार्क भए।

कोलकाताको सुरुवात पनि खासै राम्रो हुन सकेन। सुनिल नारायण दोस्रो ओभरमा ६ रनको व्यक्तिगत स्कोरमा आउट भए।

यसपछि रहमानुल्लाह गुरबाज र वेंकटेश अय्यरबीच लामो साझेदारी देखिएको थियो। गुरबाज ३२ बलमा ३९ रन बनाएर आउट हुँदा वेंकटेश अय्यरले अविजित ५२ रनको इनिङ खेले।

गुरबाज आउट भएपछि कप्तान श्रेयस अय्यर मैदानमा आए र वेंकटेश अय्यरसँग मिलेर टोलीलाई जित दिलाए।

हैदरावादका लागि शाहबाज अहमद र प्याट कमिन्सले एक-एक विकेट लिए।

यसअघि सनराइजर्स हैदरावादको सुरुवात निकै खराब रह्यो। कोलकाताका बलरहरू उनीहरूमाथि पूर्ण रूपमा हावी देखिएका थिए।

कोलकाताका आन्द्रे रसेलले ३, हर्षित राना र मिचेल स्टार्कले २-२ विकेट लिए। नरेन र वरुणले १–१ विकेट लिए।

मिचेल स्टार्कले पहिलो ओभरमा अभिषेक शर्मालाई बोल्ड गरे। ट्राभिस हेड पनि खाता नखोलेर प्याभिलियन फर्किए। टोलीको मिडल अर्डरले पनि केही उत्कृष्ट प्रदर्शन गर्न सकेन।

कप्तान प्याट कमिन्स बाहेक कुनै पनि ब्याट्सम्यानले २० रन भन्दा बढी बनाउन सकेनन्। कमिन्सले १९ बलमा २४ रन बनाए।

अभिषेक शर्मा, ट्राभिस हेड, राहुल त्रिपाठी, शाहबाज अहमद, अब्दुल समद, जयदेव उन्नाडकट र भुवनेश्वर कुमारले दोहोरो अंक छुन सकेनन्।

जेठ १४, २०८१ सोमबार ०७:१६:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।