संसद् गतिरोध, सिरोहिया पक्राउ र सहकारी ठगीबारे बोल्यो बृहत् नागरिक आन्दोलन

संसद् गतिरोध, सिरोहिया पक्राउ र सहकारी ठगीबारे बोल्यो बृहत् नागरिक आन्दोलन

काठमाडौँ : बृहत् नागरिक आन्दोलनले सामाजिक सन्जालमार्फत् व्यक्ति र संस्थाहरू विरुद्ध सङ्गठित तवरले जारी घृणा र भ्रम फैलाई भयको रजाइँ गर्नेहरूबाट निरुत्साहित नभै सही, तथ्यपूर्ण र खोज पत्रकारिताको बढ्दो सान्दर्भिकताबीच थप कर्तव्यनिष्ठ हुन प्रेस समुदायलाई आव्हान गरेको छ।

आइतबार संसद्मा सत्तापक्षले प्रतिपक्षमाथि गरेको व्यवहार, सरकारी ठगी र कान्तिपुर ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको पक्राउबारे आफ्नो धारणा सार्वजनिक गर्दै आन्दोलनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार सहकारी बचत अपचलनको आक्षेप लागेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन गर्नुपर्ने विपक्षीको मागलाई आलटाल गर्दै संसद्लाई संवादभन्दा मुठभेडको थलो बनाउन उद्यत भएको उल्लेख गरेको छ।

राष्ट्रिय मुद्दाहरू सम्बोधन गर्नबाट संसद्‌लाई विमुख गर्ने, यसलाई अक्षम र अवरोधक बनाउने कुनै पनि गतिविधिप्रति सावधान रहन सत्ता पक्ष र विपक्ष सबैलाई सचेत बनाउँदै नागरिक आन्दोलनले यही अवस्थामा, आफ्नो भूमिकाप्रति निरन्तर प्रश्न गर्दै आएको कान्तिपुरका प्रकाशकलाई आक्षेपित मन्त्री लामिछानेले 'पहिले समात अनि प्रमाण जुटाऊ " शैलीमा गरेको गिरफ्तारीबाट प्रतिशोध साँध्न सरकारी शक्ति दुरुपयोग गरेको दाबी गरेको छ।

नागरिकता प्रकरणमा पक्राउ परेका सिरोहियाको पक्राउको कारण प्रेसलाई अवाञ्छित दबाब र त्रासमा पार्न  प्रहरी कारबाही भएको भन्ने राष्ट्रिय ध्यानाकर्षणप्रति सरकारको उदासीनताले आन्दोलनको सन्देह बढाएको उल्लेख गरिएको छ। 

अन्तर्राष्ट्रिय सरोकारवालाहरूको आम जनताको जीविकासँग जोडिएको सहकारीको सङ्कट समाधान गर्न त्यसको अपचलनमा संलग्नमाथि कारबाहीसँगै सुशासन सुनिश्चित गर्न, त्यसप्रति खबरदारीको जिम्मेवारी भएको प्रेसको स्वतन्त्रताप्रति प्रतिबद्ध रहन आन्दोलनले सरकारलाई आफ्नो राजनीतिक तथा संवैधानिक भूमिका सम्झाएको छ।

जेठ १४, २०८१ सोमबार ००:२१:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।