नेपालमा विश्व स्वास्थ्य संगठनले तोकेभन्दा बढी डाक्टर, कति छ संख्या ?

नेपालमा विश्व स्वास्थ्य संगठनले तोकेभन्दा बढी डाक्टर, कति छ संख्या ?

काठमाण्डौँ : नेपालमा चिकित्सकको संख्या ४५ हजार ४ सय ९८ पुगेको आर्थिक सर्वेक्षणले देखाएको छ। 

अर्थमन्त्री वर्षमान पुनले आइतबार संघीय संसदका दुवै सदनमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/०८१ को आर्थिक सर्वेक्षणमा उल्लेख भएअनुसार ३० हजार २७ मेडिकल चिकित्सक, ४ हजार ८ सय ८३ दन्त चिकित्सक र १० हजार ५ सय ८८ विशेषज्ञ चिकित्सक नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका छन्। जसमध्ये पुरुष ६४.१ र महिला ३५.९ प्रतिशत छन्।

सोही अवधिमा १ लाख २२ हजार ३ सय १३ विभिन्न श्रेणीका नर्स नेपाल नर्सिङ काउन्सिलमा दर्ता भएका छन्। सर्वेक्षणका अनुसार नेपालमा प्रतिहजार जनसंख्यामा १.२० चिकित्सक र २.८३ नर्स छन्। यो विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डभन्दा बढी हो। 

२०७९ फागुनसम्म डाक्टर, नर्स, अनमी, कविराज, वैद्य, स्वास्थ्य सहायक र महिला स्वास्थ्य स्वयं सेविकासमेत गरी १ लाख २ हजार ६ सय ८६ स्वास्थ्यकर्मी सरकारी सेवामा आवद्ध छन्। 

चालु आर्थिक वर्षको फागुनसम्ममा सरकारी तथा निजी स्वास्थ्य संस्थाबाट अन्तरङ्ग, बहिरङ्ग र आकिस्मक सेवा गरी ४ करोड ६० लाख ५६ हजारपटक सेवा प्रवाह भएको देखिएको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो सेवा २ करोड ८८ लाखपटक भएको थियो। 

जेठ १३, २०८१ आइतबार १९:५२:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।