कुल बेरुजु १२ खर्ब पुग्यो, अर्थ मन्त्रालयको मात्रै ५४ प्रतिशत

कुल बेरुजु १२ खर्ब पुग्यो, अर्थ मन्त्रालयको मात्रै ५४ प्रतिशत

काठमाडौं : नेपालको कुल बेरुजु १२ खर्ब रुपैयाँ पुगेको छ। महालेखापरीक्षक कार्यालयले आर्थिक वर्ष २०७९/८० को अन्तिम लेखापरीक्षण प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गर्दै मुलुकको बेरुजु बढेको जनाएको हो।

महालेखापरीक्षक तोयम रायाले आइतबार राष्ट्रपतिलाई ६१ औं वार्षिक प्रतिवेदन पेस गरेका हुन्। राष्ट्रपतिसमक्ष प्रतिवेदन पेस गरिसकेपछि आयोजित सार्वजनिकीकरण कार्यक्रममा रायाले आव २०७९/८० सम्म नेपालको कुल बेरुजु १२ खर्ब पुगेको बताए। 

महालेखा कार्यालयका अनुसार आव २०७९/८० सम्मको कुल अद्यावधिक बेरुजु ६ खर्ब ६९ अर्ब छ। लेखापरीक्षण बक्यौता, राजस्व बक्यौता, शोधभर्ना लिनुपर्ने वैदेशिक अनुदान तथा ऋण रकमसम्बन्धी समयमै कारबाही टुंगो लगाउनुपर्ने सहितको बेरुजु ११ खर्ब ८३ अर्ब पुगेको हो। 

संघीय सरकारी कार्यालयतर्फ गत आर्थिक वर्षमा सबैभन्दा बढी ५४.७४ प्रतिशत अर्थ मन्त्रालयको बेरुजु भएको देखिएको छ। कुल १० मन्त्रालयमा संघीय सरकारी कार्यालयतर्फको कुल बेरुजुको ९७.४२ प्रतिशत छ।

त्यस्तै, प्रदेश सरकारतर्फ लेखा परीक्षण अंकको तुलनामा २.०३ प्रतिशत बेरुजु कायम भएकोमा सबैभन्दा बढी मधेश प्रदेशको ३.६७ प्रतिशत र सबैभन्दा घटी सुदूरपश्चिम प्रदेशको ०.७९ प्रतिशत छ।

जेठ १३, २०८१ आइतबार १८:५७:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।