राजनीतिमा सक्रिय हुन खोज्दै पूर्वराष्ट्रपति भण्डारी, एमालेको महिला भेलालाई सम्बोधन गर्ने

राजनीतिमा सक्रिय हुन खोज्दै पूर्वराष्ट्रपति भण्डारी, एमालेको महिला भेलालाई सम्बोधन गर्ने

काठमाडौं : एमाले जनसंगठन समन्वय संयन्त्रले राष्ट्रिय महिला भेलाको आयोजना गर्ने भएको छ। आइतबार पत्रकार सम्मेलन गरी संगठनले यही जेठ १६ र १७ गते राष्ट्रिय महिला भेलाको आयोजना गर्न लागिएको जनाइएको छ। 

राष्ट्रिय भेलाको प्रमुख अतिथि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र प्रमुख वक्ता एमालेका अध्यक्ष कमरेड केपी शर्मा ओली रहने छन्। यसअघि राजनीतिमा सक्रिय हुने हल्लाकाबीच पार्टीका कार्यक्रमहरूमा पूर्व राष्ट्रपति भण्डारी सहभागी हुन थालेकी हुन्।  

भेलामा महिला आन्दोलनको इतिहासको सम्झना गर्दै अहिलेसम्मका उपलब्धिहरूको विषद् चर्चा र चुनौतीहरूका विषयमा छलफल गरिने संगनले जनाएको छ।

काठमाडौंको प्रज्ञा भवन कमलादीमा करिव पाँच हजार महिलाको सहभागिता रहन छ। भेलाको दोस्रो दिन १७ गतेको कार्यक्रम तोकिएका प्रतिनिधिहरूका बीचमा कार्की बैंक्वेट, बबरमहलमा सम्पन्न हुने छ।

भेलामा पार्टीका केन्द्रीय सदस्यहरू एमाले आबद्ध २३ वटै जनसंगठनका महिला नेताहरू, पार्टीबाट निर्वाचित महिला जनप्रतिनिधिहरू, पार्टीको प्रदेश तथा जिल्ला कमिटीका महिला पदाधिकारीहरू, अनेरास्ववियुको तर्फबाट स्ववियुमा निर्वाचित महिलाहरू प्रतिनिधिका रूपमा सहभागी हुने बताइएको छ। 

भेलाको दोस्रो दिनको कार्यक्रममा १२ वटा समूहमा कार्यक्रमको उद्देश्यमा आधारित रहेर महत्वपूर्ण विषयमा समूह छलफल हुने छ र समूह प्रस्तुतिपछि भेलाका निश्कर्षहरू सार्वजनिक हुने छ।  

जेठ १३, २०८१ आइतबार १७:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।