४४ सार्वजनिक संस्थानमध्ये २६ मात्र नाफामा, उच्च नाफा गर्ने आयल निगम, उच्च घाटामा  वायुसेवा निगम

४४ सार्वजनिक संस्थानमध्ये २६ मात्र नाफामा, उच्च नाफा गर्ने आयल निगम, उच्च घाटामा  वायुसेवा निगम

काठमाडौँ : सरकारी स्वामित्वमा ४४ सार्वजनिक संस्थानमध्ये जम्मा २६ संस्थान मात्रै  नाफामा देखिएका छन्। आइतबार अर्थमन्त्री वर्षमान पुनले संसद्मा प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/८० को सार्वजनिक संस्थानहरूको वार्षिक प्रतिवेदनअनुसार २६ संस्थान नाफामा, १५ संस्थान घाटामा र ३ संस्थानको कारोबार शून्य अवस्थामा रहेको छ।

प्रतिवेदन अनुसार सबै संस्थानहरूको कुल सञ्चालन आय ६ खर्ब ६१ अर्ब १ करोड रुपैयाँ रहेको देखिन्छ। प्रतिवेदनअनुसार गत आर्थिक वर्ष २०७८/७९ को तुलनामा सार्वजनिक संस्थानहरूको खुद नाफा वृद्धि भएको देखिन्छ।

गत वर्ष संस्थानहरूको खुद नाफाको तुलनामा यस वर्ष ४८ अर्ब ५१ करोड रहेको छ। गत वर्ष घाटामा रहेको नेपाल आयल निगम उच्च नाफामा जाँदा संस्थानहरूको नाफा बढेको देखिएको हो।

निगम गत आर्थिक वर्षमा ३८ अर्ब १७ करोड रुपैयाँ बराबरको घाटामा थियो। यो वर्ष निगमले ११ अर्ब ७२ करोड रुपैयाँ नाफा गरेको देखिन्छ।

सार्वजनिक संस्थानमा सरकारको कुल लगानी समेत बढेको देखिन्छ। अघिल्लो आर्थिक वर्षको तुलनामा सरकारको कुल लगानी ८.६२ प्रतिशतले बढेर ६ खर्ब ६१ अर्ब पुगेको छ।

संस्थानमा सरकारको ३ खर्ब ७९ अर्ब रुपैयाँ बराबरको सेयर लगानी र २ खर्ब ८१ अर्ब ऋण लगानी देखिन्छ। सार्वजनिक संस्थानमार्फत ३२ हजार १ सय ८० जनाले रोजगारी पाएका छन् भने सञ्चित नाफा ६१ अर्ब १४ करोड रुपैयाँ छ।

सार्वजनिक संस्थानको प्रशासनिक खर्च एक वर्षमा ४३ अर्ब ९० करोड रहेको देखिन्छ। गत आर्थिक वर्षसम्म २० संस्थानले लेखा परीक्षण गराएकामा अत्यधिक नाफा गर्नेमा नेपाल आयल निगम, नेपाल विद्युत् प्राधिकरण, नेपाल दूरसञ्चार कम्पनी, नागरिक लगानी कोष र निक्षेप तथा कर्जा सुरक्षण कोष रहेका छन्।

बढी नोक्सानी बेहोर्नेमा नेपाल वायुसेवा निगम, नेपाल खानेपानी संस्थान, दुग्ध विकास संस्थान, उदयपुर सिमेन्ट र नेपाल टेलिभिजन छन्। सर्वेक्षणमा उल्लेख भए अनुसार निजीकरण गरिएका १८ संस्थानमध्ये १० वटा नाफामा छन्।

जेठ १३, २०८१ आइतबार १६:३९:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।