आइपिएल फाइनल आज : कोलकाता र हैदराबाद प्रतिस्पर्धी

आइपिएल फाइनल आज : कोलकाता र हैदराबाद प्रतिस्पर्धी

काठमाडौँ : इन्डियन प्रिमियर लिग (आइपिएल) २०२४ को फाइनलमा कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदराबाद आज एक अर्काविरुद्ध मैदानमा उत्रिँदै छन्।

आइतबार चेन्नईको एमए चिदम्बरम स्टेडियम (चेपौक)मा साँझ ७:४५ बजे खेल सुरु हुनेछ। कोलकाता चौथो पटक र हैदराबाद तेस्रो पटक फाइनल खेल्न लागेका हुन्। फाइनलमा कोलकाता र हैदराबाद पहिलो पटक  प्रतिस्पर्धा गर्दैछन्।

कोलकाताले दुई वर्षपछि र हैदराबादले पाँच वर्षपछि फाइनल खेल्न लागेका हुन्। कोलकाताले दुई पटक आइपिएलको उपाधि जितेको छ।

यस सिजन लिग चरणमा कोलकाताले १४ मध्ये ९ खेलमा जितेको थियो भने ३ खेल हारेको थियो। टोली २० अङ्कसहित नम्बर १ बनेर प्लेअफमा पुग्न सफल भयो। यससँगै पहिलो क्वालिफायरमा कोलकाताले हैदराबादलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो।

हैदराबादले २०१६ मा आइपिएलको उपाधि जितेको थियो। यो सिजनमा हैदराबादले ८ खेल जितेको थियो भने ५ खेलमा हारेको थियो।

एक खेल वर्षाका कारण रद्द भएको थियो। हैदराबाद १७ अङ्कसहित दोस्रो स्थानमा रहँदै प्लेअफमा पुगेको थियो।

अहिलेसम्म दुई टोलीबिच भएको प्रतिस्पर्धामा कोलकाता हाबी देखिन्छ। २७ खेल भएकोमा कोलकाताले १८ खेल जितेको छ भने हैदराबादले ९ खेल जितेको छ।

यस सिजनमा दुई टोलीबिच जम्मा दुई खेल भएकोमा दुवै खेल कोलकाताले जितेको थियो।

जेठ १३, २०८१ आइतबार ११:४१:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।