बिनाकारण महानगरले गाली खाएको भन्दै बालेनले पठाए मन्त्री महासेठलाई 'एक ट्रक धुलो उपहार'

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई प्रत्येक दिन धुलो उपहार पठाउने घोषणा गरेका छन्।
शनिबार मेयर शाहले सामाजिक सञ्जालमार्फत मन्त्री महासेठको कारण महानगरले अकारण गाली खाएको भन्दै उनलाई पायक पर्ने ठाउँमा दैनिक एक ट्रक धुलो उपहार पठाउने घोषणा गरेका हुन्।
मेयर शाहले काठमाडौंको कलंकीदेखि महाराजगन्जसम्म रिङरोड विस्तारका नाममा यहाँका नागरिकले धेरै धुलो र कष्ट व्यहोर्नुपरेको उल्लेख गरेका छन्। त्यसको निमन्त्रणमा ध्यान नदिएको र काम अगाडि नबढाइएको भन्दै उनको आरोप छ।
'काठमाडौंमा हुने आधा भन्दा बढी प्रदूषणमा त्यहाँ कै धुलोको हात छ, जसले गर्दा महानगरवासीले धुलोधुँवा खानुपरेको छ, त्यो बाटो प्रयोग गर्नुपर्नेहरूले सवारी साधन मर्मतमा खर्च बढी गर्नुपरेको छ, पुग्न अबेला भोग्नुपरेको छ। र, काठमाडौँ महानगरले अकारणमा गाली खानुपरेको छ। यो धुलो जनताले मात्र खाँदा राम्रो देखिँदैन। जबसम्म तपाईं काम अगाडि बढाउनु हुन्न, हरेक दिन तपाईंलाई पायक पर्ने ठाउँमा एक ट्रक धुलो उपहार पठाउनेछु, माया सम्झेर स्वीकार्नुहोला,' उनले लेखेका छन्।
मेयर शाहले स्टाटससँगै सडक विभाग अन्तर्गतको सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौँको गेटमा एक ट्रक धुलो फ्याँकिएको भिडियो समेत सार्वजनिक गरेका छन्।
जेठ १२, २०८१ शनिबार १९:०७:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।