'देशमा भयानक संकटको स्थिति आउनसक्छ'

'देशमा भयानक संकटको स्थिति आउनसक्छ'

काठमाडौं : माओवादी केन्द्रका प्रवक्ता अग्नि प्रसाद सापकोटाले यतिबेला भु–राजनीतिक परिस्थितिका कारण मुलुकको अवस्था अत्यन्तै जटिल र पेचिलो बनेको बताएका छन्। 

शनिबार काठमाडौंमा आयोजित नेपाल गणतान्त्रिक यातायात व्यवसायी संगठनको दोस्रो अधिवेशनमा उनले देशमाथि भयानक संकटको स्थिति आउने अवस्था रहेको भन्दै राष्ट्रियताको हिसाबले सबैले आफूलाई तयार पार्नुपर्ने अवस्था रहेको बताए। 

उनले भने, ‘अहिले भु–राजनीतिको अवस्था अत्यन्तै जटिल छ। पेचिलो छ। आज हाम्रो आँगनमा युद्ध हुँदैछ। त्यसकारण राष्ट्रियताको हिसाबले पनि हामीले आफूलाई तयार पार्नुपर्ने बेला आएको छ। आँधी तुफान आउनसक्ने अवस्था छ। देशमा एउटा भयानक संकटको स्थिति आउन सक्छ। त्यसैले हामीले राष्ट्रियताका लागि र जनताको आर्थिक विकासको लागि पनि तयार हुनुपर्छ।’

उनले देशमा  समाजवाद उन्मुख राज्य व्यवस्था लिपिबद्ध गर्न सफल भएतापनि जनताको जीवनस्तर उकास्नेगरी साँचो अर्थमा अनुभूत गर्ने खालको परिवर्तनलाई संस्थागत गर्न चुकेको बताए।

विश्व नै दृष्टिविहीन भएको अवस्थामा नेपालमा पनि राष्ट्रिय दृष्टिकोण नबनेको भन्दै उनले राष्ट्रिय दृष्टिकोण बनाउन आवश्यक रहेको बताए। 

प्रवक्ता सापकोटाले नेपालमा वामपन्थीहरु मात्र नभई सबै कम्युनिष्टहरू एकीकरण भएमा मात्र देशमा विकासले गति लिन सक्ने बताए।

जेठ १२, २०८१ शनिबार १६:०७:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।